GBIME

‘लघुवित्तकर्मी असुरक्षित भए, नियामकले पनि भूमिका खेलेन’

4.37K
shares

काठमाडौं, ११ असार । लघुवित्त बैंकर्स संघले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाइदिन राज्यसँग अनुराेध गरेको छ । साेमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हाे ।

संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले लघुवित्त संस्था र लघुवित्तकर्मीहरु असुरक्षित रहेको बताए । नेपालकाे कानून अनुसार दर्ता भएका संस्थाहरु माथि अस्वभाविक माग राखेर धम्माउने गरिएको उनले बताए । लघुवित्तका विरुद्ध पछिल्लो समय संघर्षको कार्यक्रम नै घाेषणा गरेर आन्दोलन हुने गरेको छ । लघुवित्त संस्था खारेजी हुनुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध हुनुपर्ने, ऋण मिनाहा हुनुपर्ने लगायतका अस्वभाविक मागहरु राखिएको भन्दै उनलेे यस्ता मागकाे अर्थ नै नरहेको बताए ।

बाहिर आएका नकारात्मक गतिविधिमा नियामक निकायले पनि चासाे नदिएको उनले बताए । अवैधानिक गतिविधिहरुलाई निरुत्साहित गर्न राष्ट्र बैंक लगायतका निउामक संस्थाले आवश्यक निर्णय लिनुपर्ने निवर्तमान अध्यक्ष लम्सालकाे भनाइ छ ।

लघुवित्त बैंकर्स संघले साेमबार विहान प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । संघका महासचिव रामबहादुर यादवले आफूले गरेको कमजोरी केही भए आफूहरु सच्चिन तयार रहेको बताए । तर, गैरकानुनी काम भने सह्य नहुने बताए ।