Dhulikhel Eco Banner new

सस्तोमा गुणस्तरिय सामान दिने योजनामा व्यवसायी : मिलन श्रेष्ठ

24.17K
shares

काठमाडौं, ११ असोज । दशैं, तिहार जस्ता ठूला चाड नजिकिँदा व्यवसायीमा एक खालको प्रतिस्पर्धा हुन्थ्यो । कसले कति सामान बिक्री गर्ने । नाफा पनि उस्तै हुन्थ्यो । तर, यसपाली व्यवसायीहरुले नाफाको हिसाब गरेका छैनन् ‘ग्राहकलाई सस्तोमा गुणस्तरीय सामान कसरी दिन सकिन्छ ? छलफल चलाउन थालेका छन् । ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठ ग्राहकको समेत आयस्रोत घटेकाले सस्तोमा राम्रो सामान दिने विषयमा छलफल भएको बताउछन् ‘अहिले उपभोक्ताहरुसंग पनि पैसा छैन त्यही भएर हामी सस्तोमा राम्रो सामग्री उपलब्ध गराउदै छौं ।’ उनले भने ।

कोभिडपछि खस्किँदै गएको अर्थतन्त्र सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा यो स्थितीमा पुगेको उनको भनाई छ । विगतका वर्षको कुरा गर्ने हो भने यो समयमा तयारी पोशाकका सामग्री बनाउन भ्याई नभ्याई हुन्थ्यो । अहिले लगभग फूर्सदमा छन् । व्यवसायीमा उत्साह सून्य रहेको धारणा राख्ने श्रेष्ठ कतिपय व्यवसायी आत्महत्याको स्थितीमा रहेको बताउन पछि परेनन् । ‘अहिले धेरै व्यवसायी सामान लिनै मान्दैनन् । व्यक्तिसंग पैसा छैन, बैंकले लोन दिँदैन ।’ व्यवसायमा मन्दी आउनुको कुरा गरे ।

व्यवसायिक सचेतनासंगै सामाजिक उत्तरदायित्व
ललितपुर तयारी पोशाक व्यापार संघ स्थापना भएको २५ वर्ष पूरा भयो । भर्खर रजत वर्ष मनाएको उक्त संस्थाले यसपाली सामाजिक उत्तर दायित्व अन्तर्गत व्यवसायिक सचेतनासंगै स्वास्थ्य शिबिर सञ्चालन गर्न लागेको जानकारी दिए । ‘व्यवसाय गर्न पैसा मात्रै भएर हुन्न । मानसिक हिसाबले पनि मान्छे बलियो हुनुपर्छ भनेर हामी स्वास्य शिबिर गर्दै छौं ।’ मानसिक रुपमा व्यवसायीलाई बलियो बनाउन लागेको कुरा गरे । वडासंग समन्वय गरेर आम व्यवसायीलाई शिबिरमा सहभागी गराउने योजना छ ।

इमान पूर्वक काम गरेपनि कतिपय व्यवसायीले बेला बेलामा जरिवाना तिरेको देख्दा श्रेष्ठलाई नमज्जा लाग्छ । कतिपय व्यवसायी यति सोझा छन् व्यवसाय दर्ता गर्छन् । समयमा नवीकरण गर्नुपर्छ भन्ने समेत हेक्का राख्दैनन् । जब अनुगमनका लागि सरकारी टोली आउछ कानुनी रुपमा उसको त्रुटी भेटिन्छ र उ जरिवाना तिर्न बाध्य हुन्छ । ‘समयमा कर तिर्ने, नवीकरणलगायतका विषयमा कतिपय व्यवसायी साथीहरुलाई नै सचेत गराउनु पर्नेछ । त्यसका लागि पनि हामी काम गर्दै छौं ।’ उनले भने ।

मारमा व्यवसायी
अहिले कुनै पनि व्यापार व्यवसाय गर्नेले वडादेखी कर कार्यालयमा दर्ता गर्नैपर्छ । वडामा दर्ता गर्दा घरभाडा कर अनिवार्य तिनैपर्छ । जबकी घरभाडा कर घरवालाले तिर्नु पर्ने हो तर, तिर्दैनन् ।

घरबेटीले घरभाडा कर नतिरेको जानकारी राज्यलाई भए पनि राज्यले वेवास्ता गर्दा व्यवसायी मारमा परेको उनको भनाई छ । अर्को कुरा घरवाला र भाडावाला बिच निश्चित सम्झौता नहुनेप्रति पनि चिन्ता व्यक्त गरे । ‘कुनै पनि पसललाई घरबेटीले निस्केर जा भने भने निस्कनुको विकल्प छैन ।’ व्यवसायी मारमा परेको कुरा गरे । सरकारले गर्नुपर्ने काम गरेन ।

आर्थिक संकटको प्रसंग आउने बित्तिकै भूकम्प र कोरोनाको प्रसंग छुट्दैन । अध्यक्ष श्रेष्ठ यो संकट आउनुमा सरकारको असक्षमता प्रमुख कारण हो भन्छन् । महंगा रेष्टुरेन्ट र तारे होटलको भिड नघटेको कुरा गर्दै श्रेष्ठ भन्छन् ‘सिमित मान्छेसंग अथाह पैसा छ त्यो पैसा सरकारले बजारमा ल्याउन सकेन । अनि संकट आयो ।’ संकट आउनुमा सरकारको कमजोरी रहेको कुरा गरे ।

सहकारी डुबेपछि अर्को समस्या
पछिल्लो समय धेरै सहकारीको स्थिती नाजुक छ । कति त भागाभाग भए । सहकारीको स्थिती नाजुक भएपछि व्यवसायीको हालत खराब भएको उनको भनाई छ । ‘सहकारी भनेको थोरै कमाउनेले पनि पैसा जम्मा गर्ने संस्था हो त्यही डुबेपछि साना व्यवसायीको विजोग भयो ।’ उनले भने ।

थोरै कमाउनेहरुले दुःख गरेर जम्मा राखेको हुन्छ । सहकारीले जहाँ लगानी ग¥यो त्यहाँ उठाउन सकेन । राम्रै गरी चलाउनेलाई पनि समस्या छ । सबै जना पैसा झिक्न गएपछि सहकारी डुब्यो । त्यस्तै भयो भने बैंक पनि डुब्छ ।

सरकारलाई कुरा सुनाउन उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य संघमा हुन गइरहेको चुनावमा वस्तुगत तर्फबाट उम्मेदवार हुँदैछन् श्रेष्ठ । ललितपुर तयारी पोशाक व्यापार संघ धेरै सदस्य भएको संस्था भएकाले पनि उनको उम्मेदवारी जरुरी भएको टिप्पणी उनका सहकर्मीले गरेका छन् । उद्योग वाणिज्य संघमा पुगेपछि व्यवसायीका पीर मर्काबारे सरकारलाई सम्झाउन सहज हुन्छ भन्ने उनलाई लागेको छ । ‘संघ मार्फत गएपछि गएपछि सरकारलाई कुरा बुझाउन अलि सजिलो हुन्छ । त्यही भएर पनि म उम्मेदवार बन्न लागेको हुँ ।’ उनले भने ।