Dhulikhel Eco Banner new

बीमा क्षेत्रका मान्छेहरु भन्छन्– बीमाको विस्तार अझै आवश्यक छ

5.24K
shares

काठमाडौं, १ मंसिर । बीमा क्षेत्रकाे नियामक र बीमा क्षेत्रका नेताहरूले बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्ताे बताएका हुन् । बीमा कम्पनीहरुले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्ने र प्राधिकरणले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । बीमा विस्तार गर्ने मामिलामा प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।

यसैगरि बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्ममा पुग्नुपर्ने उनले बताए । त्यसको लागि पनि पत्रकार र बीमा क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।

‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबै भन्दा बढी आवश्यकता भुइ मान्छेहरुलाई छ । उनीहरुलाई बीमाको दायामा ल्याउने काम हामीले गर्नुपर्छ,’ उनले बताए ।

यसैगरि पत्रकारले तथ्यमा आधारीत समाचार लेख्नुपर्ने उनको भनाइ छ । आग्रह तथा पुर्वाग्राहमा आधारीत भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस कार्यक्रमले प्राधिकरण र पत्रकारबीच सही ढंगले सहकार्य गर्ने आधार तय भएको बताए । बीमा सम्बन्धी समसामयिक बिषयमा धारणा विकास गर्न पत्रकार सहयोग पुग्ने पनि उनको भनाइ छ ।

यसैगरि उनले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताए । यसले बीमा क्षेत्रको विस्तार र विकास सहयोग पूग्ने बताए । यो बीमा क्षेत्रको लागि कोसे ढुंगा सावित हुने पनि उनले बताए ।

यसैगरि बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको उनले जानकारी दिए । बीमा नियमावली स्वीकृति भएपछि बिमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने उनले बताए ।