Dhulikhel Eco Banner new

देशको अर्थतन्त्रलाई सुधार गर्नका लागि नलेज बेस इकोनोमीलाई जोड दिनुपर्छ : सचिव मरासिनी

2.09K
shares

काठमाडौं, ३ मंसिर । राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले देशको अर्थतन्त्रलाई सुधार गर्नका लागि नलेज बेस इकोनोमीलाई जोड दिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवप्रवर्तन संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा निर्यात ४ प्रतिशतले घट्ने बताएका छन् । हाल नेपालमा ९० प्रतिशत वस्तु आयात हुने गरेको छ भने १० प्रतिशत निर्यात हुने गरेको छ । यसमा ४ प्रतिशत अझै घट्न सक्ने एक अध्ययनले देखाएको उनको भनाइ छ ।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ’ मरासिनीले भने, ‘निर्यात र वैदेशिक सहायता पनि घट्छ भन्नेछ । घटे घटोस् ५० वर्षसम्म सुविधा पाएको हो । के परिवर्तन भयो त यो अवधिमा १९७० देखि विकासशील मुलुकमा प्रवेश गर्ने तयारीमा छौँ ।’

आर्थिक सुधारका लागि सरकारले अनुकूल वातावरण बनाइदिनुपर्ने उनले बताए । यसका लागि सरकारले नवप्रवर्तनको विकासका लागि निजी क्षेत्रलाई सपोर्ट गर्नुपर्ने उनले बताए ।

विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि तिन वटा क्राइटेरिया पुरा गर्नुपर्नेमा दुई वटा पुरा भएको उनको भनाई छ । ‘एउटा इन्कमको रूपमा क्राइटेरिया नपुगे पनि बाँकी दुई वटामा पुगेकोले हामी विकसित मुलुकमा प्रवेश गर्ने भएका छौँ’ उनले भने, ‘अब आर्थिक सुधारका लागि जोड दिनुपर्ने चुनौती छ ।’