Dhulikhel Eco Banner new

राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब

2.33K
shares

काठमाडौं, ५ मंसिर । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०.१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको हो ।

असार मसान्तमा कुल सम्पत्तिमा लगानीको अंश ८९.२३ प्रतिशत रहेको छ । जसमा गोल्ड सर्टिफिकेटसमेत जोडिएको छ । त्यस्तै ६.३७ प्रतिशत नगद तथा नगद तथा बैंक मौज्दात र अन्य सम्पत्तिको अंश ४.४१ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्र बैंकले ३७.८० प्रतिशतले लगानी वृद्धि गरेको छ । यसअनुसार गत असारसम्म राष्ट्र बैंकले १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ ।

राष्ट्र बैंकसँग गत असारमा १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात छ ।आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा १९‍‍.९० प्रतिशतले वृद्धि भई ८० अर्ब २४ करोड ४७ लाख कायम भएको छ ।

सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.८४ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.३२ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १.४८ प्रतिशत रहेको छ ।