सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदै
वि.सं.२०८१ मंसिर २४ सोमवार १७:०३
shares

काठमाडौं, २४ मंसिर । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा सुरू हुने भएको छ।
शुक्रबारसम्म चल्ने उक्त प्रतियोगिता ७२ होलको हुने आयोजकले जनाएको छ। ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको कुल पुरस्कार ७ लाख ३५ हजार नगद पुरस्कार रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दिपक आचार्यले जानकारी दिए।
विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । त्यस्तै चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो-कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान बनाउने छन्। कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पानेछन्।
डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन्। उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको बताए।



















