Dhulikhel Eco Banner new

रारामा बन्ने भयो पाँचतारे रिसोर्ट, मन्त्रीले गरे शिलान्यास

3.34K
shares

काठमाडौं, ३० माघ । मुगुको रारामा पाँचतारे रिसोर्ट बन्ने भएको छ । अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिको संयुक्त लगानीमा मुगुको छायानाथ रारा नगरपालिका–९ मा पाँचतारे ‘रारा रिसोर्ट’ बन्ने भएको हो ।

बुधबार मात्रै रिसोर्टको शिलान्यास समेत भएको छ । काठमाडौंमा आयोजित भव्य समारोहकाबीच बुधबार वन तथा वातावारणमन्त्री ऐनबहादुर शाहीले रिसोर्टको शिलान्यास गरे ।

गत वर्ष सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रारा होल्डिङ्सका अध्यक्ष अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रारामा पाँचतारे रिसोर्ट निर्माण गर्ने सम्झौता गरेका थिए । सोही सम्झौता पश्चात करिब २ अर्ब लगानीमा रिसोर्ट बन्न लागेको हो । अध्यक्ष शाहका अनुसार २ वर्ष भित्रमा रिसोर्ट निर्माण सकिएर सञ्चालनमा आउनेछ ।

रारा प्रकृतिको अनुपम उपहार : मन्त्री शाही

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री शाहीले रारा प्रकृतिको अनुपम उपहार भएको बताए । प्रकृतिले दिएको अनुपम उपहार हुँदा हुँदै पनि लगानी हुन नसक्दा ओझेलमा परेको उनको भनाइ छ । कर्णालीको रारा जस्तो दुर्गम स्थानमा लगानी गरेकोमा दुबै कम्पनीलाई धन्यबाद दिदै मन्त्री शाहीले अब बन्ने रिसोर्ट पछि भने राराको महत्व थप बढ्ने बताए ।

‘दुर्गमस्थानमा लगानीको महत्वपूर्ण कदम चाल्नु भएकोमा म दुबै कम्पनीलाई धन्यवाद दिन चाहान्छु’ मन्त्री शाहीले भने, ‘यो अठोट र साहस पुरा गर्न तपाईहरुको अभियानलाई सार्थकता दिन र लगानीको सुरक्षा दिन मन्त्रालयको तर्फबाट पूर्ण रुपमा सहयोग र समर्थन रहनेछ ।’ मन्त्री शाहीले रारा जस्ता अन्य पर्यटकीय क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रसँग अनुरोध समेत गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले पनि कर्णाली सम्भावना नै सम्भावनाको ठाउँ भएको भन्दै लगानीका आह्वान गरे । कर्णालीलाई तत्कालीन राजा महेन्द्रले स्वर्गको अप्सरा भनेको प्रसंग सुनाउदै सांसद शाहीले कर्णालीमा हुने लगानीको सुरक्षाका लागि आफूहरुले ज्ञारेन्टी नै गरिदिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले रारामा रिसोर्ट बन्न लागेको सुन्दा खुसी लागेको भन्दै यो प्रोजेक्टलाई पार्टी र आफ्नो तर्फबाट समेत सहयोग हुने बताइन् ।

कम्पनीले दिएको जानकारी अनुसार रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष एक सय २० जनाले रोजगारी पाउनुका साथै एक हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुनेछ ।