ब्रोकर नम्बर ४८ को बद्मासी, शेयर बिक्रीको पैसा दिदै–दिदैन !
वि.सं.२०८२ असार १० मंगलवार १४:३४
shares

काठमाडौं, १० असार । ब्रोकर नम्बर ४८ अर्थात त्रिशक्ति सेक्युरिटिजले शेयर बिक्री वापतको पैसा दिन आनकानी गरेको पाइएको छ । शेयर बिक्री गरेको लामो समयसम्म रकम भुक्तानी नगरेपछि लगानीकर्ताले धितोपत्र बोर्डसम्मे गुहार्नु परेको छ ।
धितोपत्र बोर्डका एक अधिकारीले दिएको जानकारी अनुसार ब्रोकर नम्बर ४८ ले शेयर बिक्री गरे वापतको पैसा भुक्तानी नदिएको भन्दै धेरै जना लगानीकर्ताले गुनासो गरेका छन् । लगानीकर्ताको गुनासो पछि बोर्डले ब्रोकर ४८ मा फोन गरेर भुक्तानी चाडो गर्न निर्देशन दिएको थियो ।
‘शेयर बिक्री वापतको रकम २ दिन भित्रमा भुक्तानी दिनु पर्नेमा लामो समयसम्म झुलाएको पाइयो’ बोर्डका एक अधिकारीले भने, ‘अस्ति एक जना लगानीकर्ताको हामीले फोन गरेपछि मात्रै भुक्तानी भएछ ।’ ब्रोकर ४८ लाई काबारही हुन सक्ने चेतावनी समेत बोर्डले दिएको छ । यद्यपि केही कारबाही भने भएको छैन ।
केटिएम भ्वाइसको सम्पर्कमा आएका एक जना लगानीकर्ताले आफ्नै पैसा पाउन पनि निकै तनाब झेल्नु परेको बताए । ‘मैले समयमा पैसा पाउनुको साटो हप्किदप्कीसम्म खेप्नु परेको छ’ उनले भने ।
त्रिशक्ति सेक्युरिटिज कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द दाहाल पनि आफ्नो कम्पनीबाट भुक्तानीमा ढिलाइ भएपछि सेवोनसम्म गुनासो पुगेको विषयमा जानकार रहेछन् । उनले प्राविधिक समस्याका कारण कुनै ग्राहकको भुक्तानीमा ढिलाइ भएको बताए । यद्यपि आफूहरुले चाडो भुक्तानी गर्ने गरेको उनको दावी छ ।
‘तपाईहरुले रिसर्च गर्नु भएपनि हुन्छ, इन्डस्ट्रीमै हाम्रो चाडो पेमेन्ट हुन्छ’ केटिएम भ्वाइससँग उनले भने, ‘अस्तिनै एक जना क्लाइन्टको केही ढिला भएको थियो, कहिलेकाही अकाउन्टमा समस्या आउछ, के हुन्छ नत्र ढिलो हुँदैन ।’


















