Dhulikhel Eco Banner new

सपोर्ट लघुवित्तको नाफा दुई गुणाले बढ्यो, सञ्चालन नाफामा २०९ प्रतिशतको वृद्धि

2.54K
shares

काठमाडौं, ८ साउन । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। कम्पनीको नाफा, सञ्चालन आम्दानी र ब्याज आम्दानीमा ठोस वृद्धि देखिएको छ भने खराब कर्जा दरमा समेत सुधार आएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, सपोर्ट लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा १४०.६३ प्रतिशतले वृद्धि भई ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा २ करोड १२ लाख रुपैयाँ मात्र थियो।

खुद ब्याज आम्दानी ८ करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड ५२ लाख रुपैयाँ नाघेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १० करोड ५५ लाख रुपैयाँबाट १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष २ करोड ५७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा २०९.५९ प्रतिशतले बढेर ७ करोड ९६ लाख रुपैयाँ पुगेको हो। हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५२ लाख रुपैयाँ रहेको छ।

कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। सपोर्ट लघुवित्तको खराब कर्जा अनुपात १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशतमा झरेको छ । जसले जोखिम व्यवस्थापनमा सुधार देखाउँछ। प्रति शेयर आम्दानी ४१.८१ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ।