प्रतिकित्ता १०० रुपैयाँमै सबैले किन्न पाउने गरी राप्ती हाइड्रोको शेयर बिक्री खुला
वि.सं.२०८२ साउन १३ मंगलवार ११:४६
shares

काठमाडौं, १३ साउन । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले मंगलवारदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ। कम्पनीले यी शेयरहरू न्यूनतम प्रतिकित्ता १०० रुपैयाँमा बिक्रीका लागि ल्याएको हो।
इच्छुक आवेदकहरूले न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्, जसअनुसार न्यूनतम लगानी रकम १० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।
लिलामीमा भाग लिन चाहने व्यक्तिहरूले साउन २० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रहरू काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्न सकिनेछ। यसबाहेक, मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरूबाट पनि बोलपत्र फारम उपलब्ध हुने व्यवस्था गरिएको छ।
कम्पनीले लिलामी प्रक्रिया सबै प्रकारका लगानीकर्ताहरूका लागि खुला गरेको छ, जसअन्तर्गत संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले समेत आवेदन दिन सक्नेछन्। कम्पनीले यो प्रक्रिया पारदर्शी र निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



















