Dhulikhel Eco Banner new

स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

1.94K
shares

काठमाडौं, ३० साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्कासन गरेपछि अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट असार ५ गते अनुमति पाएको स्वस्तिक लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल २ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दैछ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल २३ हजार १०० कित्ता शेयर साउन ९ गतेसम्म बिक्री गरिएको थियो। सो अवधिमा आवेदन दिने २ हजार ३१० जनालाई साउन १६ गते १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको थियो।

अब बाँकी रहेका २ लाख ७ हजार ९०० कित्तामध्ये १ हजार १५५ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

सार्वसाधारणले कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। सोअनुसार न्यूनतम १ हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति भदौ ३ गते तोकिएको छ।

स्वस्तिक लघुवित्तको आईपीओलाई इक्रा नेपाल लिमिटेडलेइक्रा ‘एनपी–आईआर बी’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

आवेदन इच्छुकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर एपमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।