सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १०:४०
shares

काठमाडौं, १४ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैंक अझ सबल र दिगो वित्तीय संस्थाको रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले बैंकको २१ वर्षे यात्रामा सहयोग गर्ने सञ्चालक समिति, कर्मचारी, ग्राहक, नियामक निकाय र शेयरधनीप्रति आभार प्रकट गरे । उनले “बैंकले आफ्नो सेवालाई अझ आधुनिक, स्मार्ट र ग्राहकमैत्री बनाउँदै दीर्घकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछ,” भने ।
वार्षिकोत्सवको अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन’ नामक सामाजिक अभियान पनि घोषणा गरेको छ। ‘लिड फर नेपाल’ संस्थासँगको सहकार्यमा सञ्चालन हुने उक्त अभियानअन्तर्गत बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढी पहिरो प्रभावित नागरिकलाई वितरण गरिनेछ। बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो सामग्री उपलब्ध गराइने जनाएको छ ।
यस अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । साथै, बैंकमा सेवा अवधि ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



















