लगानी बोर्डको कार्यशैलीमाथि प्रश्नः १० परियोजनामा तुरुन्त प्रगति आवश्यक
वि.सं.२०८३ वैशाख ९ बुधवार ११:५६
shares

काठमाडौं, ९ वैशाख । लगानी बोर्ड नेपालको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठक स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको थियो।
बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका आयोजनाहरूको सुस्त प्रगतिप्रति कडा असन्तुष्टि जनाए। “स्वीकृत भएका ५५ आयोजनामध्ये केवल २ वटा मात्र निर्माण चरणमा पुग्नु लाजमर्दो अवस्था हो,” उनले भने। उनले विदेशी लगानी स्वीकृत भएर पनि लामो समयसम्म काम अघि नबढ्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसको निर्मम समीक्षा आवश्यक भएको बताए।
उनले परियोजना कार्यान्वयनमा ढिलाइ हुनुका कारण पहिचान गर्न निर्देशन दिँदै दोषी व्यक्ति वा कानुन जुनसुकै भए पनि सुधार गर्नुपर्ने अवस्था आएको बताए। “समस्या के हो तुरुन्तै स्पष्ट हुनुपर्छ, अन्यथा आगामी १४औँ बैठकमा थप कडा निर्णय लिन बाध्य हुनेछौं,” उनले चेतावनी दिए। साथै कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिँदै केही “फेन्सी आयोजना” को समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्यसँग जोडिएका आयोजनाहरूको अवस्था दयनीय रहेको टिप्पणी गरे। उनले परियोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै अब कुन निकाय वा व्यक्ति जिम्मेवार छन् भन्ने स्पष्ट गरेर कडाइका साथ अनुगमन गरिने बताए।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य र अधिकारका साथै स्वीकृत तथा सहजीकरण भइरहेका आयोजनाबारे जानकारी गराएका थिए। उनले १२औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि स्पष्ट पारे।



















