सम्झौता सम्पन्न : नेपाल रिकन्डिसन अटो व्यवसायी संघका सदस्यलाई निजी जीवन बीमा सेवा उपलब्ध हुने
वि.सं.२०८३ भदौ ४ बिहीवार १२:२८
shares

काठमाडौं,४ भदौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निजी जीवन बीमा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार संघ तथा संघमा आबद्ध सदस्य र व्यवसायीहरूलाई सहज, गुणस्तरीय तथा भरपर्दो निजी जीवन बीमा सेवा उपलब्ध गराइनेछ। साथै, संघ तथा सदस्यसम्बद्ध संस्थाबाट बिक्री वितरण हुने सम्पूर्ण सवारीसाधनको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट गर्ने सहमति भएको छ।
सम्झौतापछि बीमित सवारीसाधन दुर्घटनामा परी क्षति भएमा सहज र सरल प्रक्रियाबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
सम्झौता कार्यक्रममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी, उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष श्री प्रवीण लामिछानेसहित पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले संघका सदस्य तथा ग्राहकलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत विभिन्न प्रकारका निजी जीवन बीमा सेवा लिन आह्वान गरे। उनले कम्पनीबाट उपलब्ध हुने बीमा सेवा छिटो, छरितो र प्रभावकारी रहेको बताए।
संघका अध्यक्ष लामिछानेले संघका सदस्य तथा ग्राहकको संख्या क्रमशः वृद्धि हुँदै गएको उल्लेख गर्दै कम्पनीमार्फत प्राप्त हुने बीमा सेवा प्रभावकारी र दाबी भुक्तानी प्रक्रिया सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आगामी दिनमा बीमा सेवा आदान–प्रदानलाई निरन्तरता दिने तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।















