Dhulikhel Eco Banner new

कमाउँदै पढ्दै, नमूना मावि खाटडाँडाका प्राविधिकधारका विद्यार्थीहरु

6.36K
shares

काठमाडौं, ८ साउन । साउन महिनाको दिउँसोको चर्को घाम । खोला किनारमा तरकारी खेती गर्न निर्माण गरिएका टनेलहरुमा २१ वर्षे वर्षा ताम्रकार असिन पसिन हुँदै माटोबाट ढुंगा छानिरहेकी थिइन् । तर, त्यो उनको घरमा तरकारी खेती गर्न निर्माण गरिएको टनेल थिएन् ।

उदयपुरको नमूना माध्यमिक विद्यालय (१–१२) मा पढाइ हुने प्राविधिकधारले निर्माण गरेको टनेल थियो । त्यही टनेलमा राम्रो तरकारी उब्जाउने र बिक्री गरेर हातमा पैसा लिने सपना ताम्रकारको छ । बालिविज्ञानमा डिप्लोमाको तेस्रो वर्ष अध्ययनरत ताम्राकार भन्छिन्, ‘म बालिविज्ञानको विद्यार्थी हुँ, पढेको कुरा व्यवहारीक रुपमा अभ्यास गर्दै आम्दानी गर्ने गरी काम गरिरहेको छु ।’

किताबमा पढेका कुरा व्यवहारिक रुपमा अभ्यास गर्न पाउँदा धेरै कुरा जानिने बताउँदै उनले थपिन्, ‘हामी कृषिका विद्यार्थी हौँ, पढेर जागिरै खानु पर्छ भन्ने छैन् । भविष्यमा कृषि फर्म खोलेर पनि जीवन चालउन सकिन्छ ।’

उनिसँगै भेटिएका २२ वर्षे छत्रबहादुर खड्काको भनाइ उस्तै छ । ‘यही टनेलमा तरकारी खेती गरेर पढाइखर्च जुटाउनु छ । बुवाआमाले धेरै खर्च गरिसक्नु भयो अब मेरो पालो आएको छ,’ उनले भने । खड्का पनि बालिविज्ञान विषयमा तेस्रो वर्षमा अध्ययनरत छन् ।

उक्त विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत कमाउँदै पढ्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ । सोही कार्यक्रम अन्र्तगत बालिविज्ञान अध्ययन गरिरहेका अति गरिब, विपन्न, जेहेन्दार गरी जम्मा २० जना विद्यार्थी छनोट भएका छन् । यसरी छनोट भएका उनै ताम्राकार र खड्कासहित २० जना नेपालटार क्षेत्रमा रहेको टनेलमा दैनिक दिउँसो तीन बजेदेखि साँझ ६ बजेसम्म काम गरिरहेका हुन्छन् । निर्माण गरिएका आठवटा टनेलमा उनिहरुले विभिन्न प्रजातिका तरकारीमा काउली, टमाटर, खुर्सानी लगायत उत्पादन गर्ने भएका छन् ।

नमूना माध्यामिक खाटडाँडाका प्राविधिक धारका संयोजक लिलाभक्त राउतले विद्यार्थीको मेहनतले उत्पादन वृद्धि गरिएको बताए । ‘विद्यालयले नै जग्गा, बिउविजन, मल, औषधी उपचार, बिक्री वितरणको लागि सहयोग गर्छ । छनोट हुनुभएका विद्यार्थी भाइबहिनीहरुले मेहनत गरेर जति बढी उत्पादन गर्नुहुन्छ । त्यसको आम्दानी नै उहाँहरुको हो,’ उनले भने ।

विद्यालयमा बालिविज्ञान र पशुविज्ञानसम्बन्धी तीन वर्षे डिप्लोमा पढाइसुरु भएको चार वर्ष पुग्न लागिसकेको छ । कृषिको बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको अभ्यासको लागि विद्यालयले झण्डै दुई विगाहा पाँच रोपनी जग्गामा खेती गराउँदै आएको छ ।

विद्यार्थीको व्यवाहारिक ज्ञान बढाउने उद्देश्यले सुरु गरिएको खेतीमा अहिले पढ्दै कमाउँदै कार्यक्रमले झनै सहयोग पुगेको राउतको भनाइ छ । नमूना मावि एक ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालय हो । २०७५ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) बाट सम्बन्धन प्राप्त गरी तीन वर्षे डिप्लोमाको बालिविज्ञान सम्बन्धी पढाई सुरु भएको थियो । त्यसपछि २०७६ सालदेखि नै उही तीन वर्षे पशुविज्ञान पढाई सुरु भएको हो ।

यो विद्यालयमा दुवै विषयमा जम्मा ४०÷४० जनाको कोटा रहेको छ । ‘सुरुका वर्षमा स्थानीय विद्यार्थी कमै थिए, अहिले बढ्दै गएका छन् । हाम्रो कोटा भनेको दुवै विषयमा गरी ८० जनाको मात्र हो,’ उनले भने । यहाँ एकलाख ७० हजार रुपैँयामा तीन वर्षे कृषि तथा पशुसम्बन्धी डिप्लोमा पढाई हुने गरेको छ ।

कृषि र पशुसम्बन्धी अध्ययन गर्ने विद्यार्थीको लागि विद्यालयले निःशुल्क पाठ््यपुस्तक, एक वर्षे आवास सुविधा दिँदै आएको छ । राउतले विद्यालयमा भौतिक, रसायनिक, वनास्पति, जीव विज्ञान, भेटनरी, माटो प्रयोगशालाको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

स्थानीय कृषकलाई सहयोग

विद्यालयले तरकारी, अन्नबाली, बिउ, वेर्ना उत्पादन गर्दै आएको छ । उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री वितरण नभए शितभण्डारमा पनि राख्न मिल्छ । ‘अहिले हामीले विभिन्न प्रकारका तरकारीका झण्डै ३० हजार तरकारीका बेर्ना तयारी पारेका छौँ । यी तरकारी बेर्ना हामीले मात्र रोप्दैनौँ, स्थानीय कृषकलाई पनि वितरण गर्ने गरेका छौँ,’ उनले भने ।

कृषकलाई कृषिमा आधुनिकरण गर्न सहयोग गर्ने, माटोरहित खेती (हाइड्रोपोनिक्स) विधि पनि सिकाउनी, प्रत्येक वर्ष निशुल्क माटो परीक्षण शिविरमार्फ सेवा दिने र मलहरुको सिफारिस गर्ने, माटोलाई आवश्यक पर्ने रसायन मलहरु निशुल्क वितरण गर्ने लगायतका सहयोग पनि गर्दै आइरहेको छ ।

यस्ता छन्, विद्यालयका समस्याहरु’

सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनमा स्रोत जुटाउनु ठूलो चुनौती रहेको प्रधानाध्यापक देवीबहादुर राईको भनाइ छ । विद्यालयमा हाल झण्डै विद्यालय र प्राविधिक धारका गरी झण्डै एक हजार ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

‘अधिकांश शिक्षक शिक्षिका अस्थायी करारबाट चलाउनु परेको छ । प्रयाप्त मात्रमा स्थायी दरबन्दी छैन् । सरकारले विद्यालयको आवश्यकता हेरेर स्थायी दरबन्दी दिए धेरै राम्रो हुने थियो,’ उनले भने । नेपाली र अंग्रेजी गरी दुवै भाषाबाट पढाई हुने गरेको छ । अहिले ५ कक्षासम्म अंग्रेजी माध्याममा अध्ययन भइरहेको प्रधानाध्यापक राईले जानकारी दिए ।

विद्यालयमा भौतिक पूर्वाधारतर्फ विद्यालयमा छवटा पक्की भवनमा दुईवटा निर्माणधिन रहेको र पाँच वटा अर्धपक्की ट्रस्टवाला भवन रहेका छन् । हाम्रो विद्यालयमा बोडिङ स्कुल परित्याग गरी आउने विद्यार्थीहरु पनि छन् । विद्यालय आर्कषणको केन्द्र बन्दै गएको पनि राईले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधकुमार घिमिरले कक्षा १ देखि १२ सम्मभन्दा पनि प्राविधिकधारमा धेरै चुनौती रहेको बताए । ‘विद्यालयलाई आत्मनिर्भर बनाउन सकिएको छैन् । सबै अनुदान र सहयोगको भरमा चलाउनु परेको छ,’ उनले भने ।