Dhulikhel Eco Banner new

विद्यालयको अतिरिक्त सीपमा टपरी बुन्न सिक्दै विद्यार्थी

7.54K
shares

काठमाडौं, ८ कात्तिक । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन ।

टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उनको इच्छा विद्यालयले पूरा गरिदियो । “सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,” उनले भनिन् ।

विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गरे । “पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु”, उनले भनिन् ।

कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । “सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,” उनले भनिन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिए ।

“नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी र सेलरोटी बनाउने तरिका सिकाउने प्रयास गरेका हौँ”, उनले भने, “यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

नेपाली संस्कृतिअनुसार तिहारमा सेलरोटी पकाउने, सेलरोटीलाई टपरीमा राखेर खाने चलन छ । विद्यार्थीलाई संस्कृतिका बारेमा जानकारी दिँदै प्रयोगात्मक शिक्षा प्रदान गर्न यो कार्यक्रम गरिएको दरैले बताए ।