Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने

5.08K
shares

काठमाडौं, १६ कात्तिक । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । अहिले पनि बैंकको सीईओको रुपमा कार्यरत न्यौपानेलाई बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनः चार वर्षका लागि नेतृत्व दिने निर्णय गरेको हो ।

न्यौपानेको नयाँ कार्यकाल मंसिर १५ गतेदेखि सुरु हुने छ । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पुगेका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ गतेको ३७९ औँ बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो ।

पहिलोपटक बैंकको सीईओ नियुक्त हुँदा ३८ वर्षका न्यौपाने कान्छो सीईओ बन्न पुगे । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान बनिसकेका छन् ।

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।

चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।