Dhulikhel Eco Banner new

सवारी दुर्घटना कम गराउन धनकुटामा प्रभातफेरी

3.56K
shares

काठमाडौं, ७ असार । सवारीसाधनको संख्या बढेसँगै सवारी दुर्घनामा पनि वृद्धि हुँदै गएपछि धनकुटाको हिलेबजारमा जनचेतनामूलक ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको आयोजनामा आयोजित प्रभातफेरी कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक प्लेकार्डसहित र्‍याली निकालिएको थियो । उक्त र्‍यालीले हिलेबजारको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त सहयोगमा आयोजित प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सवारी दुर्घटनाबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै सवारीचालक र यात्रु दुवै पक्ष सचेत हुन जरुरी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले ट्राफिक नियम पालनासम्बन्धी सहजीकरण गर्दै ट्राफिक प्रहरीले मात्र सवारी दुर्घटनालाई रोक्न नसक्ने बताए । उनले भने, ‘ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटनाबाट धेरैको ज्यान जाने गरेकोले सबै सरोकारवालाहरू सचेत हुन आवश्यक रहेको बताए ।’

ट्राफिक नियमको पालना मात्र गर्न सकियो भने सवारी दुर्घटना धेरै न्यूनीकरण हुने भएकाले यसतर्फ सबै सरोकारवाला जिम्मेवार हुन एसपी चौधरीले आग्रहसमेत गरे । सडक बिग्रिएका कारण पनि धेरै सवारी दुर्घटना हुने गरेकाले सडकको संरक्षणमा सबैले ध्यान दिन जरुरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ सुरेन्द्र खड्काले बताए ।

ट्राफिक सप्ताहको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, यातायात व्यवसायी, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, विद्यार्थीहरूलगायतको सहभागिता रहेको थियो ।