Dhulikhel Eco Banner new

१० महिनामा ८ खर्ब बढी रेमिट्यान्स भित्रियो

5.04K
shares

काठमाडौं, २७ जेठ । चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ। वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विदेशबाट ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आएर ६ अर्ब ७६ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । बैशाख महिनामा स्थानीय निर्वाचन एवम् डलर विनिमर दर समेत उच्च रहेका कारण रेमिट्यान्समा केही वृद्धि बताइएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २ सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।