बढ्यो ग्लोबल आइएमईको नाफा, अन्य सूचकहरु पनि पोजिटिभ
वि.सं.२०८२ वैशाख ७ आइतवार ०८:३७
shares

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडको मूनाफा बढेको छ । आइतबार सार्वजनिक चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण अनुसार बैंकले ३७ प्रतिशत भन्दा धेरैले नाफा बढाउन सफल भएको हो ।
यस अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।


















