Dhulikhel Eco Banner new

साउन १ यता बर्डफ्लु शून्य, विभागको दाबी

559
shares

काठमाडौं, ७ साउन । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ सङ्क्रमण पुष्टि भएको छैन।

विभागका महानिर्देशक डा। उमेश दाहालले पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१, सुन्दरीजलमा सङ्क्रमण देखिएपछि नयाँ केस नदेखिएको जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी नियमित परीक्षण भइरहेको छ र अवस्था हाल नियन्त्रणमा रहेको छ।

बर्डफ्लु पहिलोपटक चैत ४ गते मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको थियो। त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गरेको थियो। सङ्क्रमण मुख्य रूपमा कमर्सियल लेयर्समा देखिए पनि प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत फैलिएको विभागले जनाएको छ।

हालसम्म देशका ११ जिल्लामा बर्डफ्लु पुष्टि भएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आएको विभागको भनाइ छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।

वरिष्ठ पशु चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५२ करोड रुपैयाँ व्यवस्थापन गरेको छ। हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकलाई ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत रकम वितरण गरिसकिएको विभागले जनाएको छ।

देशभरका पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट परीक्षणलाई तीव्रता दिइएको छ। सरकारी सक्रियता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सफल भएको विभागको निष्कर्ष छ। सङ्क्रमण घट्दै गएसँगै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ्न थालेको छ, जसले किसानले पुनः उचित मूल्य पाउन थालेका छन्।