नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त दीर्घबहादुर रावल को हुन् ?
वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:१४
shares

लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। गभर्नरको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको महत्त्वपूर्ण कार्यकारी जिम्मेवारी सुम्पिएको हो। डेपुटी गभर्नरको दौडमा डा. डिल्ली पोखरेलको नामसमेत सिफारिस भए पनि अन्ततः सरकारले रावललाई नै रोजेको छ। राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहने व्यवस्था छ। अर्को रिक्त पदमा गत चैत २४ गते नै किरण पण्डित नियुक्त भइसकेका छन्। यससँगै केन्द्रीय बैंकले पूर्ण नेतृत्व पाएको छ।
गभर्नरपछिको दोस्रो ठूलो पदमा पुगेका रावल केन्द्रीय बैंकभित्र एक अध्ययनशील र खरो प्रतिस्पर्धाबाट माथि उठेका अब्बल अधिकारीका रूपमा चिनिन्छन्। डेपुटी गभर्नरमा नियुक्त हुनुअघि उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिरहेका थिए। उनी एक वर्षअघि मात्र कार्यकारी निर्देशक पदमा बढुवा भएका थिए।
विशेषगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) को क्षेत्रमा रावललाई एक अनुभवी विज्ञ मानिन्छ। उनले सन् २०१९ देखि २०२४ सम्म करिब पाँच वर्ष राष्ट्र बैंकअन्तर्गतको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट’ (एफआईयू) को प्रमुखका रूपमा सफलतापूर्वक काम गरेका थिए। एफआईयूको नेतृत्व गर्दा उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको महत्त्वपूर्ण जिम्मेवारीसमेत वहन गरेका थिए।
रावलको बैंकिङ करियर र केन्द्रीय बैंकभित्रको वृत्तिविकास निकै उत्कृष्ट छ। उनी राष्ट्र बैंकमा प्रवेश गरेयताका सबै पदोन्नतिहरू आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाटै पार गर्दै आएका हुन्। सन् २०१८ मा लोकसेवा आयोगले लिएको निर्देशक पदको खुला प्रतिस्पर्धामा उनले प्रथम स्थान नै हासिल गरेका थिए। राष्ट्र बैंकको जागिरे जीवनको सुरुवाती दिनहरूमा उनले आर्थिक अनुसन्धान विभाग तथा बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर काम गरेका थिए। त्यसैगरी, नीति तथा योजना इकाइको इन्चार्ज र नियमन समितिको सदस्य सचिवका रूपमा पनि उनले नीतिगत तहमा अनुभव सँगालिसकेका छन्। केन्द्रीय बैंकको सेवामा आबद्ध हुनुअघि रावलले नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धकका रूपमा काम गरेर बैंकिङ करियरको सुरुवात गरेका थिए।
प्रशासनिक कार्यमा मात्र नभई प्राज्ञिक क्षेत्रमा पनि रावलको दख्खल बलियो छ। उनी हाल काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा विद्यावारिधि (पीएचडी) गरिरहेका ‘स्कलर’ हुन्। उनको शैक्षिक योग्यता निकै फराकिलो छ; उनले अर्थशास्त्रका साथै समाजशास्त्रमा पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् भने व्यवस्थापन संकायमा एमबीए डिग्रीसमेत हासिल गरेका छन्।
बैंकिङ क्षेत्रका विविध आयामहरूलाई समेटेर उनले दुईवटा पुस्तकमा सहलेखनसमेत गरेका छन्। वित्तीय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सन् २०१२ मा ‘सामना बैंकिङ पुरस्कार’ बाट सम्मान गरिएको थियो। लामो अनुभव, बलियो प्राज्ञिक पृष्ठभूमि र नीतिगत तहको गहिरो ज्ञान भएका रावलको नियुक्तिले केन्द्रीय बैंकको नियमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।















