Dhulikhel Eco Banner new

भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’ : २ लाख दर्शक भित्र्याउने लक्ष्य

नेपालमै एसेम्बल गरिएका उत्पादनलाई विशेष प्राथमिकता

559
shares

नेपालकै सबैभन्दा ठूलो गाडी मेला ‘नाडा अटो शो’को १८औँ संस्करण आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा यसपटकको मेलालाई ‘स्वर्ण उत्सव’का रूपमा भव्यताका साथ सम्पन्न गर्न तयारी तीव्र पारेको छ। यो प्रदर्शनी भदौ १४ गतेसम्म चल्नेछ।

मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको यस मेलामा झन्डै तीन लाख वर्गफुटको विशाल क्षेत्रफलभित्र २०० भन्दा बढी स्टलहरू रहनेछन्। मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र हल्का व्यावसायिक सवारीसाधनका नयाँ मोडलका साथै बैंक, बिमा कम्पनी, टायर, लुब्रिकेन्ट्स र अटो पार्ट्सका छुट्टाछुट्टै स्टलहरू राखिने आयोजकले जनाएको छ।

यस वर्षको अटो शोमा नेपालमै एसेम्बल गरिएका सवारीसाधन, ब्याट्री तथा हेल्मेटलगायतका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखिँदैछ। यसका अतिरिक्त, दिगो यातायात र स्मार्ट मोबिलिटीका विषयमा सरोकारवाला तथा विज्ञहरूबीच अन्तरक्रियासमेत हुनेछ। अवलोकनकर्तालाई सहज होस् भनेर गाडी, पार्ट्स र वित्तीय संस्थाका स्टलहरूलाई अलग–अलग क्षेत्रमा विभाजन गरिनेछ।

६ दिनसम्म चल्ने यस मेलामा करिब २ लाख अटोप्रेमीले अवलोकन गर्ने आयोजकको अनुमान छ। दर्शकको सुविधाका लागि ‘खल्ती’ एपमार्फत अनलाइन टिकटको व्यवस्था मिलाइएको छ, जसमा अग्रिम बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याक अफर राखिएको छ। मेलास्थललाई पूर्ण सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी निगरानी, आपत्कालीन स्वास्थ्य सेवा, ह्विलचेयर पहुँच, पार्किङ र क्याफेटेरियालगायतका सुविधाहरू सुनिश्चित गरिएको छ।