GBIME

कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति लघुवित्त बैंकर्स संघको आपत्ति

2.01K
shares

काठमाडौं, १७ फागुन । कर्मचारीमाथि दुरव्यहार गरेकोप्रति नेपाल लघुवित्त बैंकर्स संघले गम्भीर आपत्ति जनाएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि मंगलबार भएको दुर्व्यवहारप्रति संघले गम्भीर आपत्ति जनाएको हो ।

उपाध्यायमाथि अज्ञात समूहले कुटपिटसहित कालोमोसो दलेर अपमानजनक व्यवहार गर्नुका साथै समूहबाट संकलन भएको रकमसमेत लुटेर फरार भएको थियो ।

संघले बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गरेको हो। साथै संघले सम्पूर्ण लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि अपिल गरेको छ।

घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिएका लघुवित्त वित्तीय संस्थाका कर्मचारीका लागि त शान्ति सुरक्षा झनै आवश्यक पर्ने भएकाले सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चतता गर्न सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकसँग संघले अपिल गरेको छ ।

‘जनमानसमा नकारात्मक प्रभाव पार्ने, देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुँदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछौं,’ संघका अध्यक्ष प्रकाशराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।