काठमाण्डौ महानगरको श्रम बैंकमार्फत ९ सय १२ जनालाई रोजगारी
वि.सं.२०८१ साउन २ बुधवार ११:३१
shares

काठमाडौं, २ श्रावण । काठमाडौं महानगरको श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीमा र ५ सय ८३ जना महानगरका विभिन्न विभागमा रोजगारी उपलब्ध गराइएको मेयर बालेन्द्र शाहले जानकारी दिए ।
काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।
यो योजना शुरु भएको आर्थिक वर्ष २०८०–०८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेका मेयर शाहले बताए ।

















