Dhulikhel Eco Banner new

बैंकिङ क्षेत्रको संकट समाधानमा विश्व अनुभव

29.76K
shares

बैंकर र व्यवसायीहरु विश्वासले सृजना गरिएका साथीहरु हुन् । यदि हामीले अर्थतन्त्रको हित चाहने हो भने यो विश्वासलाई कुनै पनि हालतलाई कायम राख्नुपर्छ । सन् २००० देखि विश्वभर ५६२ वटा बैंकहरु असफल भइसकेका छन् । यी असफल बैंकहरु मध्ये अधिकांश बैंकहरु असफल हुनुको मुख्य कारण सन् २००७–०८ को विश्वब्यापी आर्थिक संकटलाई मानिएको छ । सन् २००८ पछि त सरुवा रोग झै एकपछि अर्काे देशका बैंकहरुमा संकट देखा पर्न थालेको थियो ।

सन् २००८ मा युकेका बैंकहरुमा संकट आएपछि सरकारले राहत प्याकेज ल्याउनुपरेको थियो तर, यो राहत प्याकेजले मात्र संकटको समाधान नभएपछि २००९ मा फेरि दोश्रो पटक राहत प्याकेज ल्याउनुपरेको थियो ।

सन् २००८–०९ मा बेल्जियमका बैंकहरुमा संकट आउँदा त्यहाँका २ ठुला बैंकहरु फोर्टिस र डेक्सियालाई बचाउन बैंकलाई राष्ट्रियकरण गर्नेदेखि अर्काे बैंकलाई बेच्नुपरेको थियो । सन् २००८–११ मा आईल्याण्डमा मुख्य राजनीतिक तथा आर्थिक संकटको कारणले गर्दा प्रमुख ३ वटा बैंकहरु संकटमा फसेका थिए । बैंकहरुको सम्पत्तिको आकार निक्कै ठुलो भएको र केन्द्रीय बैंकले पनि अन्तिम ऋणदाताको सुविधा प्रदान गर्न नसक्ने अवस्था आएपछि बैंकले सर्वसाधारणहरुको विश्वास गुमाउने अवस्था आएको थियो ।

सन् २००८–०९ मा युक्रेनको अर्थतन्त्रमा ठुलो मन्दी आएको थियो । स्टिलको मूल्यमा कमी, ग्याँसको आपूर्तिमा कटौतीको कारणले त्यहाँका बैंकहरुले संकट भोग्नुपरेको थियो भने अपरिपक्क आर्थिक नीति एवं सरकार र केन्द्रीय बैंकको समन्वयको अभावलाई यस संकटका प्रमुख कारण मानिएको छ ।

सन् २००८–१४ मा स्पेनका बैंकहरुमा विश्वब्यापी आर्थिक संकटले नराम्रोसंग धक्का पुर्याएकोले केन्द्रीय बैंकले राहत प्याकेज दिनुको साथै नियमन तथा सुपरभिजन नियमहरुमा छुट दिनुको साथै सरकारले केही समय अन्तराष्ट्रिय लेखा मापदण्ड तोड्नको लागि समेत छुट दिएको थियो ।
सन् २००९–१० मा भेनेजुलाका बैंकहरुमा सुशासनको अभाव तथा चरम भ्रष्टाचारको कारणले त्यहाँका धेरै बैंकहरुलाई सरकारले लिनुपरेको थियो भने धेरै बैंकका कर्मचारीहरु तथा मन्त्रीका आफन्तहरुलाई गिरफ्तार गरिएको थियो ।

सन् २०१७ देखि २०१९ सम्म घानाका बैंकहरुमा संस्थागत सुशासनको अभाव भएको, केन्द्रीय नियम कानूनहरुको पालना नगरिएको, बैंकका सञ्चालक तथा ठुला पदाधिकारीहरुबाट नै कर्जाको अपचलन भएको र कमजोर जोखिम व्यवस्थापनको कारणले बैंकहरुको निष्क्रिय कर्जा बढेर संकटमा परेका थिए ।

सन् २०२३ मा अमेरिकाको बैंकहरुमा समस्या देखिन थालेको छ । सन् २०२३ मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकले टांट पल्टिएको थियो । कोरोना महामारीपछि गरिएको कमसल लगानी असुलीमा समस्या परेपछि बैंक समस्यामा परेको थियो भने ठुला संस्थागत निक्षेपकर्ताहरुले एक्कासी रकम निकालेपछि बैंक टांट पल्टिएको थियो । सन् २०२० देखि २०२३ सम्म अमेरिकाका केही बैंकहरु असफल भएका छन् ती मध्ये केही निम्न बमोजिम रहेका छन् :

बैंकको नाम साल कारण गाभ्ने संस्था
सिग्नेचर बैंक २०२३ खराब जोखिम व्यवस्थापन सिग्नेचर ब्रिज बैंक, नेशनल एशोसियशन
सिलिकन भ्याली बैंक २०२३ खराब जोखिम ब्यवस्थापन सिग्नेचर भ्याली बैंक, नेशनल एशोसियशन
अलामेनिया स्टेट बैंक २०२० संचालक समितिद्वारा खराब सुशासन इक्विटी बैंक
फस्र्ट सिटी बैंक २०२० खराब सम्पत्तिको गुणस्तर, व्यवस्थापकीय कमजोरी युनाइटेड फिडेलिटी बैंक
द फस्र्ट स्टेट बैंक २०२० खराब सुशासन, खराब ब्यवस्थापन एमभिबि बैंक
इरिक्सन स्टेट बैंक २०२० ठुलो कर्जा नोक्शानी, खराब ब्यवस्थापन फार्मर्स एण्ड मर्चेन्ट बैंक

सन् १९९८ मा नेपालको बैंकहरुको निष्क्रिय कर्जा ४१ प्रतिशत रहेको थियो । त्यस समयमा नेपालका सरकारी बैंकहरुको निष्क्रिय कर्जा ६० प्रतिशतभन्दा माथिसम्म पुगेको थियो र यसको मुख्य कारणहरु राजनीतिक प्रभाव लगायत अन्य विभिन्न कारणहरु रहेका थिए । नेपालमा विभिन्न समयमा बैंकहरु संकटमा पर्नुको मुख्य कारणहरुमा आन्तरिक ऋण प्रवाह, नियमन र सुपरिवेक्षणमा कमी, संस्थागत सुशासनको कमी, राजनीतिक प्रभाव, रियल स्टेट तथा अनुत्पादकत्व क्षेत्रमा अधिक लगानी, आन्तरिक नियन्त्रणमा कमी, आक्रामक विशाल लगानी आदि थिए ।

अहिले नेपालको बैंकहरुको निष्क्रिय कर्जा बढ्ने क्रममा छ । असार २०७९ मा १.३१ रहेको बैंकहरुको निष्क्रिय कर्जा बढ्दै आश्विन २०७९ मा बढेर १.९८ प्रतिशत पुगेको थियो भने २०७९ पुसमा २.६ प्रतिशत पुगेको छ, यो प्रतिशत अझै बढेर ५ प्रतिशतको हाराहारी पुग्ने आँकलन गरिएको छ । यसअघि धेरै वर्षसम्म नेपालको निष्क्रिय कर्जा दक्षिण एशियाकै सबैभन्दा कम रहेको थियो ।

नेपाल लामो समयदेखि कुनै नै कुनै द्वन्द्वमा फसिरहेको छ, राजनीतिक अस्थिरताले गर्दा पनि अर्थतन्त्रले नोक्शान ब्यहोर्नु परिरहेको छ । विगत डेढ वर्षदेखि लगानीयोग्य रकमको अभावले कर्जा लगानी गर्न नसकिरहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरमा वृद्धि हुन पुग्यो । बैंंकले अचुक मुनाफा कमायो भन्दै ब्यवसायीहरु बैंकको विरोध गरिरहेका छन् भने अर्काेतिर लघुवित्तहरु विरुद्ध पनि विभिन्न तवरले विरोध तथा आन्दोलन भइरहेको अवस्था छ । नेपालको बैंकिङ्ग इतिहासमा नै पहिलो पटक बैंकरिुद्ध धेरै ग्राहकहरु तथा सर्वसाधारणहरुमा धेरै नकारात्मक कुराहरु फैलन गएकोले यसबाट सृजित वातावरणबाट बैंकिङ्ग क्षेत्रमा नयाँ जोखिम थपिएको छ ।

विश्वब्यापी कोरोना महामारीपछि विश्वभर पारेको अर्थतन्त्रमा हानी र त्यसको लगत्तै रसिया र युक्रेनको युद्धले भर्खरै सुधार हुँदै गइरहेको विश्वको अर्थतन्त्रलाई पारेको नोक्शानबाट नेपाल पनि अछुतो रहन सकेन तर, कुनैबेला श्रीलंका जस्तै आर्थिक संकटमा त पर्ने होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था रहेको नेपालको बिदेशी मुद्रा सञ्चिति, रेमिटेन्स, लगानीयोग्य रकम तथा अन्य विभिन्न सूचांङ्कमा सुधार आएर अर्थतन्त्रले लय समाउने बाटोतर्फ अग्रसर भएको छ । नेपालको बैंकिङ्ग समग्र दक्षिण एशियामा नै राम्रो भएको तथ्याङ्कले देखाए पनि अहिले नेपालमा भइरहेको बैंकविरुद्धका गतिविधिहरु सम्बन्धमा सम्पूर्ण सरोकारवालाहरुले समयमा नै सोच विचार गरेर समाधान गर्न नसके यसले अर्थतन्त्रलाई ठुलो नोक्शानी गर्नेमा कसैको पनि दुईमत नहोला ।

अहिले नेपालका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका ४ करोड ८७ लाख निक्षेप ग्राहकहरु र १८ लाख ३६ हजार कर्जाका ग्राहकहरु छन् भने शेयरधनीहरुको पुँजी ६७१ अर्ब रहेको छ । सात वर्ष अघि बैंकहरुको मुनाफा २० प्रतिशतभन्दा माथि थियो भने अहिले १०–११ प्रतिशतको हाराहारीमा छ । स्प्रेड दर पनि घटिरहेको छ । केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरुको पहिलो कर्तव्य निक्षेपकर्ताहरुको निक्षेपको सुरक्षा गर्नु र उनीहरुको विश्वास जित्नु हुने भएकोले उनीहरुको विश्वास जित्न पनि बैंकले केही मुनाफा कमाउनु अनिवार्य हुन्छ ।

सर्वसाधारणहरुमा बैंकको निष्क्रिय कर्जा बढ्यो भने बैंकको मुनाफा घट्ने मात्रै हो भन्ने बुझाइ हुनसक्छ तर, यसले सम्पूर्ण अर्थतन्त्रलाई नै असर गर्छ । यदि कुनै बैंकको निष्क्रिय कर्जा बढ्यो भने मुनाफा घट्नुको साथै लगानीकर्ताको लाभांश, सरकारलाई तिर्नुपर्ने कर पनि घट्छ जसले अर्थतन्त्रमा थप लगानीका अवसरहरुमा कमी आउनुका साथै अर्थतन्त्रका अन्य विभिन्न क्षेत्रमा समेत नकरात्मक असर गर्छ । बढ्दो निष्क्रिय कर्जाले बैंकको पु्ँजीकोष घटाएइदिन्छ । जसले गर्दा बैंकको कर्जा लगानी गर्ने क्षमतामा पनि कमी आउँछ । भर्खरै लगानीयोग्य रकमको अभावबाट पार पाउन लागेको बैंकिङ्ग क्षेत्रमा फेरि पुँजीकोषको कारणले लगानी गर्न नसक्ने अवस्था आयो भने यसले फेरी ठुलो समस्या निम्त्याउन सक्छ ।

इरिक जिङ्गले बढी निष्क्रिय कर्जा भएका देशहरु युक्रेन, पाकिस्तान, रुस, ट्युनिसया र नाइजेरियाको सन् १९९८ देखि २०१९ सम्मको तथ्याङ्क अध्ययन गर्दा कम निष्क्रिय कर्जाले बैंकलाई मात्र नभई ग्राहकहरुलाई, सरकारलाई तथा समग्र अर्थतन्त्रलाई नै फाइदा हुने निष्कर्ष निकालेका थिए । कम निष्क्रिय कर्जाले अर्थतन्त्रको आत्मविश्वास बलियो हुने र यसले कर्जाको आपूर्तिमा सकरात्मक भूमिका खेल्ने उनको निष्कर्ष थियो ।

नेपाली बैंकहरुले विभिन्न समयमा आफूलाई आवश्यक पर्दा विभिन्न विदेशी संस्थाहरुबाट लगानी पनि भित्र्याएको छ र लगानीयोग्य रकमको अभाव हुँदा नेपालका केही वाणिज्य बैंकहरुले बिदेशी संस्थाबाट रकम सापटी लिएर पनि केही अति आवश्यकीय क्षेत्रका ग्राहकहरुलाई कर्जा लगानी गरेका थिए । यदि नेपालको निष्क्रिय कर्जा बढ्यो भने विदेशी लगानीकर्ताहरुले उनीहरुले लगानी जोखिमको विष्लेशण गरेर नेपालमा लगानी गर्न प्राथमिकतामा नराख्न पनि सक्ने भएकोले यसबारे पनि सचेत हुनु जरुरी देखिन्छ ।

इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ) ले २०२० मा ९२ वटा विकासोन्मुख राष्ट्रहरुमा १९७० देखि २०१६ सम्मको तथ्याङ्कको आधारमा गरेको अध्ययन अनुसार यदि देश कुनै पनि प्रकारको द्वन्द्वमा परेको छ भने यसले बैंकिङ्ग क्षेत्रमा निम्त्याउने संकट २.५ गुणा बढी हुन्छ । उक्त अध्ययनको निष्कर्ष अनुसार यदि देश १० वर्षदेखि द्वन्द्वमा भए बैंकिङ्ग संकट आउने सक्ने सम्भावना २५ प्रतिशत रहने र यदि २ वर्षदेखि द्वन्द्वमा भए संकट आउन सक्ने सम्भावना १६.४ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।

आइएमएफको अध्ययनलाई पालना गर्ने हो भने अहिले बैंकर र ब्यवसायीबीच रहेको असमझदारी समाधान गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन किनभने यसबीचमा अर्थतन्त्रले केही नोक्शानी त ब्यहोरिक्यो र यसलाई समाधान गर्न जति ढिलाइ हुन्छ, त्यति नै ठुलो नोक्शानी ब्यहोर्नुपर्ने हुनसक्छ । ब्यवसायीको माग अनुसार कर्जाको ब्याज घटाउन निक्षेपको ब्याजदर केही बिन्दुसम्म घटाएर बेस रेट घटाउने प्रयास भइरहेको छ । २०७९ असारमा ७.४१ प्रतिशत रहेको निक्षेपको औसत ब्याजदर २०७९ असोजमा ८.१६ प्रतिशत हुंदै २०७९ पौषमा ८.५१ प्रतिशसम्म पुगेकोमा अहिले २०७९ माघमा केही विन्दुले घटेर ८.४१ प्रतिशतमा झरेको देखिन्छ ।

बैंकको लागि ऋणी र ऋणीको लागि बैँक एकार्काका परिपूरक हुन्, बैंक्रको ब्यवसाय राम्रो हुनको लागि ऋणीको ब्यवसाय पनि राम्रो हुनुपर्छ भने ऋणीको ब्यवसाय राम्रो हुनको लागि बैंकले उनीहरुलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ । अहिलेको समय भनेको आरोप प्रत्यारोप गर्ने नभई एकले अर्काेलाई सहयोग गर्ने समय भएको सबै पक्षले बुझ्नुपर्छ । अहिलेको जल्दो बल्दो समस्या ब्याजदर घटाउने विषयमा नेपाल राष्ट्र बैंक तथा बैंकहरुको पनि एकमत देखिएकोले यसबाट सकरात्मक परिणाम आउनेछ भन्ने विश्वास लिन सकिन्छ ।

आर्थिक संकटसँग जुध्न बैंकर र व्यवसायी फुटेर होइन, जुटेर लाग्नुपर्छ । एकार्काका नकरात्मक कुराहरु गर्न छोड्नुपर्छ । यदि कुनै कुरा चित्त बुझेको छैन भने सम्बन्धित बैंक तथा वित्तीय संस्था, ऋणी तथा नेपाल राष्ट्र बैंकसमक्ष छलफल गरेर समाधान गर्ने बाटो खोज्नुपर्छ । सामाजिक सञ्जालहरु तथा अन्य विभिन्न माध्यममा नकरात्मक कुराहरु फैलाएर आर्थिक वातावरण बिगार्न खोजियो भने देशको आर्थिक क्षेत्रलाई नै हानी हुने कुराको हेक्का राख्नुपर्छ ।

बैंकर र व्यवसायीहरु विश्वासले सृजना गरिएका साथीहरु हुन् । यदि हामीले अर्थतन्त्रको हित चाहने हो भने यो विश्वासलाई कुनै पनि हालतलाई कायम राख्नुपर्छ । आर्थिक संकटसँग जुध्न बैंकर र व्यवसायीहरु फुटेर होइन, जुटेर लाग्नुपर्छ, यदि जुट्न सकिएन भने हामी आफैले आर्थिक संकट निम्त्याउनेछौं । जुन हामीले भविष्यमा ज्यादै महँगो रकम चुकाउनुपर्ने हुनसक्छ ।
(मल्ल, बैंकर हुन् ।)