आत्मनिर्भर अर्थतन्त्रका लागि फुटवेयर व्यवसाय
वि.सं.२०८० वैशाख ६ बुधवार १०:४२
shares

उद्योग व्यवसायमा लागेको मेरो अनुभवबाट भन्नुपर्दा अहिलेको अर्थतन्त्र इतिहासकै अपठ्यारो अवस्थामा छ । अहिलेको अवस्थामा विभिन्न तरलताका कुरा, रोजगारीका कुरा र बैंकिङ क्षेत्र कुराहरु लगायत विभिन्न कारणले तथा अन्तराष्ट्रिय मन्दी, कोभिड, रसिया–युक्रेन युद्धका कारण सबैको प्रभाव एकै पटक झल्कन पुगेको छ । कतिपय उद्योग त बन्द नै भइसके भने कतिपय बन्द हुने अवस्थामा पुगेको छ । त्यसैले अहिलेको व्यापार व्यवसायको अवस्थालाई अति नै कठिन अवस्था मान्न सकिन्छ ।
समग्र राज्य, विश्वमा नै प्रभाव पर्दा फुटवेयर (जुत्ता उद्योग) अछुतो रहने भन्ने त कुरै रहेन । फुटवेयरमा सानाठुला गरेर हामी १५०० उद्योगीहरु सहभागी छौँ । आजको मितिमा हेर्नुपर्दा उत्पादनको हिसाबले आत्मनिर्भरबाट पनि हामी धेरै नै अघि बढिसकेका छौँ । तीन करोड जनसङ्ख्यालाई आधार मानेर हेर्दा देशमा कुल १० करोडको हारहारीमा माग रहेको छ ।
इन्फ्रस्न्ट्रक्चरको हिसाबले १५/१६ करोडको उत्पादन क्षमता छ । हामीसंग एक्सपोर्ट गर्न सक्ने प्रशस्त क्षमता हुँदाहुदै पनि राज्यले गरेका नीतिगत कुराहरुकोे कार्यान्वयन पक्ष फितलो भएको छ । राज्य पनि आफैं संकटमा छ । र हामी व्यवसायीहरु पनि संकटमा छौँ ।
जस्तो उदाहरणका लागि हामीले दश करोड जोर भनिरहेका छौँ तर पछिल्लो डाटालाई केलाउने हो भने साढे पाँच वा पौने ६ करोड जोर मात्रै नेपाली जुत्ता बजारमा गएको देखिन्छ । तथ्यांकगत रुपमा हेर्ने हो भने लगभग साढे २ करोड जति जुत्ता बाहिरबाट आएको देखिन्छ । यो सबै ग्रे मार्केटको कारण भएको हो । आजको मितिमा हेर्ने हो भने गे्र मार्केट निकै बढेको छ ।
गत सालको तथ्यांक हेर्ने हो भने ग्रे मार्केटले डेढदेखि २ करोडसम्म जुत्ता भित्र्याएको छ । र अर्काे ब्याजदरको पनि स्थिरता कायम भएन ७/८ प्रतिशतमा लोन लिएको व्यवसायी हामी नै हौ तर अहिले १५/१६ देखि १७ प्रतिशतसम्म तिरिरहेका छौँ । त्यसमा पनि अब साथीहरुले समयमा लोन तिर्न नसक्दा ट्रान्जेक्सन घटेर, लिएको लोनलाई भेरिफाइ गर्न नसक्दा, र समयमा रिन्यु हुन नसक्दा अर्काे २/३ प्रतिशत ब्याज जोडिदा समग्र उद्योग र फुटकर व्यवसायहरु निकै नै कठिन अवस्थामा छ ।
कोभिडको समयलाई क्याल्कुलेसन गर्नुहुन्छ भने फुटवेयर मात्र नभएर समग्र नेपाली उत्पादनको अवस्था कमजोर भयो । बन्दाबन्दीको समयमा मान्छेको आवतजावत बन्द भएपछि सामानको आवतजावत पनि अटोमेटिक बन्द भयो ।
जब बन्द खुल्यो । खुलिसकेपछि पनि तुरुन्तै आपूर्ति हुन नसक्दा बिचमा रहेको ग्यापबाट नेपालका उद्योगीका गोदामहरु पुरै खाली भएर बिकेको अवस्था पनि थियो । त्यसलाई कोभिडले लामो समयसम्म थलाएको थियो तर क्षणिक रुपमा एउटा उदाहरण चाँहि के देखिएको छ भने हामीले वा राज्यले चाहँदा वा नचाहँदा एउटा उदाहरण चाँहि के बन्यो भने यदि बोर्डरलाई टाइट गरेर त्यसको व्यवस्थापन गर्ने हो भने नेपाली उद्योग र नेपाली उत्पादनले बजार पाउने अवस्था प्रशस्त हुने रहेछ भन्ने कुरा कोभिडले प्रस्ट देखायो ।
बन्दको समय भएकाले त्यो पैसाले मात्र पुग्ने स्थिति त रहेन व्यापारको पैसानै खाने लाउनेमा खर्च भयो । बैंकका ब्याजहरु पनि १/२ प्रतिशत जति घटाउने भनियो तर मिनाहा त भएन त्यसैले पैसा त सबै तिर्नैपर्याे । राज्यले दिएन भन्दा दियो १/२ प्रतिशत मात्र दियो भनेर बैंकहरुले भने अथवा एउटा निश्चित लोन कोभिड लोनको नाममा थपिदियो । थपिएको लोन पनि तिर्नैपर्याै अपन त्यसको प्रभाव आज आएर देखियो ।
त्यसपछि फेरि युक्रेन–रुस युद्ध पनि थपियो त्यसमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धिपनि जोडिएर आयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सामानको ढुवानी खर्च बढ्यो । अर्काे यो विश्वव्यापी रुपमा छाएको मन्दी पनि जोडियो यो सबैको एकमुष्ट प्रभाव अहिले आएर देखिएको छ । पचास प्रतिशत जति व्यवसायहरु त अहिले बन्द भैरहेको अवस्थामा छन् ।
अहिले पत्रिकामा पनि खाली लिलामीको मात्रै सूचना देखिन्छ । चलिरहेका उद्योगहरु पनि भोलि पर्सी कहिले बन्द गर्ने भन्ने अवस्थामा पुगेको छ । राज्यले यो अवस्थामा एक किसिमको सम्बोधन नगर्ने हो भने हिजो साझा कार्यक्रमको एउटा रुपरेखा हुँदा अर्थतन्त्रलाई जोगाउन कुनै न कुनै खालको सम्बोधन गर्ने भन्ने कुरा आएको छ । सम्बोधन भएकैै खण्डमा त अर्थतन्त्र बच्ला फेरि बैंकको कुरा गर्नुहुन्छ भने अर्थतन्त्र डामाडोल भैरहेको अवस्था छ राज्यको कर उठिरहेको छैन् ।
राज्यका सबै उद्योग व्यवसायहरु घाटामा गएका छन् तर बैंक एउटा यस्तो संस्था हो जो नाफामा छ । उनीहरुको प्रतिशतको आधारमा नाफामा रहेका छन् । किनभने हिजो हामीले ७/८ प्रतिशतमा लोन लियौं तर आज ४/५ प्रतिशत प्रिमियर जोडेको अवस्थामा छ । यसको असर त केवल व्यवसायी र उद्यमीहरुलाई परिरहेको छ ।
अहिले बैंकहरुले सोच्ला हामी नाफामा गयौं भनेर तर भोलि सबै उद्योग सेक्टरहरु नै धरासयी भयो भने त्यो बैंक चाँहि बच्छ त ? यो कुरा त राष्ट्रबैंक, राज्य र ती बैंकहरुले नै सोच्नुपर्ने हो । लिलाम गर्दै जाँदा ल अब ५, १०, २०, र ५० प्रतिशत नै लिलाम होला जब ५० प्रतिशतबाट माथि नाघ्छ तब सकार्ने कस्ले त ? त्यो लिलाम सकार्न पनि कोही न कोही पैसा भएको व्यक्ति त चाहियो ।
अब बजारमा यो संरचनामै पैसा नभएको मानिस भैदियो भने त बैंकले धितो राखेर मात्र के गर्छ ? यसमा चाँहि राज्यले गम्भीर भएर नसोच्ने हो भने अवस्था एकदमै भयावह र जटिल छ । यो अवस्था सुधारको लागि राज्यले व्यवसायीलाई लोनको ब्याज मिनाहा गर्ने संस्कार त हाम्रो नेपालमा छैन तर एउटा ब्याजको जुन रेट छ त्यसलाई घटाउनुपर्याे । त्यसले लागतमा एउटा सिधा असर देखाउँछ ।
अहिले भइरहेका उद्योगी व्यवसायीहरुले ब्याज तिर्न लोन तिर्न नसकिरहँदा त्यसलाई चाँहि राज्यले कु्नै न कुनै हिसाबले रिस्ट्रक्चर गरेर र अर्थतन्त्रमा सुधार नआइसक्दासम्म निश्चित समयका लागि इएमआई गरेर त्यसबाट तिर्न सक्ने वातावरण राज्यले बनायो भने हामी अगाड बढ्न सक्छौ ।
मुलुकमा सँधै कुर्सीको खिचातानी, राष्ट्र बैंक र अर्थ मन्त्रालयको दोहोरी हामीले देखेको जस्तै परिदृश्यहरु बढ्दै जाने हो भने त त्यसको भिक्टिम व्यवसायी नै हुने हो । तर अहिले देख्दा व्यवसायी समस्यामा अपठ्यारोमा देखिन्छ तर यही क्रम बढ्दै जाने हो भने यसको ठुलो असर राज्यलाई नै पर्छ ।
यसबाट कोल्याप्स हुने भनेको त राज्य नै हो । त्यसैले यो विषयमा चाँहि सरोकारवाला निकायहरुले एकदमै ध्यान दिनुपर्ने हो । नेपालमा जुत्ता उद्योगको धेरै सम्भावनाहरु छन् तर पनि विदेशी ब्राण्डका जुत्ताहरु छ्यापछ्याप्ती छन् ।
नेपाली अर्थतन्त्रमा फुटवेयर क्षेत्र धेरै सम्भावना भएको क्षेत्र हो । कृषिपछिको दोस्रो रोजगारी सिर्जना गर्ने क्षेत्र हो यो । हामी विदेशी ब्राण्ड लेखिएको नेपाली नै जुत्ता लगाउँछौ । हामी ६०/६५ प्रतिशत जति आत्मनिर्भर भइसकेका छौँ । यो सबै उपभोक्ताहरुले गर्दा नै हो । अहिले नेपाल आफ्नो उत्पादनमा ६० प्रतिशत आत्मनिर्भर बनेको । तर पनि यदि उपभोक्ताले हामी नेपाली ब्राण्ड नै लगाउँछौँ भनेर भनियो भने व्यापारीहरु पनि मेड इन नेपाल लेखेको नेपाली ब्राण्ड बेच्न बाध्य हुने थिए । तर पनि हाम्रा केही उपभोक्ताहरु बजारमा गएर जुत्ता किन्दा नाइक, स्पोर्ट वाला, गोगो, वाला जुत्ताहरु लगाउन पायो भने आफूलाई अलि स्ट्यान्न्डर देखाउन सकिन्छ भन्ने मान्यता बोक्छन् ।
त्यसैले पनि बजारमा यस्ता नाइक, एडिडास जस्ता ब्राण्डहरु धेरै भेटिन्छन् । अब १० करोडको जुत्तामा २ करोडकोे जुत्ता विदेशी ब्राण्ड बनेर आएको छ । त्यो विदेशी हुने भइहाल्यो । डेढ २ करोड जुत्ता भारतको खुल्ला नाकाबाट आउने हँुदा त्यो पनि विदेशी नै हुने भयो । यसले हाम्रो देश कत्तिको आतमनिर्भर छ भन्ने कुरा देखाउँछ ।
हामी व्यापारी–उद्योगीको लागि त्यसबाट विदेशीको ब्राण्डिङबाट एक प्रकारको सकारात्मक ऊर्जा नै आउँछ । कस्तो खालको डिजाइन र स्टाइलहरुको उत्पादन गर्नुपर्छ, त्यसको बारेमा हामीलाई राम्रो ज्ञान हुन जान्छ । त्यसले गर्दा हामीलाई पनि उत्प्रेरणा मिल्छ । त्यही खालको डिजाइन बनाउन, क्वालिटी निकाल्न र प्रोडक्सन गर्न व्यवसायीमा पनि एक प्रकारको प्रतिस्पर्धा छ । तर बाहिरबाट ल्याउँदा भने लिगल रुपमा ल्याउनुपर्याे । नेपालको ब्राण्डलाई नेपाली ब्राण्डमा नै बेच्नुपर्याे । बजारमा उपभोक्ताले विदेशी ब्राण्ड नै खोज्छन् भनेर नेपाली ब्राण्डलाई पनि विदेशी ब्राण्ड बनाएर बेच्नु भएन ।
यसका लागि राज्य तहबाट नै सुधारका पहल कदमहरु चाल्नुपर्छ । सरकारी तहमा पनि नेपाली ब्राण्डलाई नै प्रयोग गर्ने गर्नपर्छ । नेपाली उत्पादनले ठाउँ पाउने खालका अभियान र पहलहरु थाल्नुपर्छ । यदि यसो गर्न सकेको खण्मा न विदेशी ब्राण्डका कुरा आउँछ न विदेशी प्रोडक्टका कुरा आउँछ । ८ देखि १० प्रतिशतसम्म त जहिले पनि विदेशी ब्राण्डको भ्याकुम रहन्छ । तर पनि राज्यले अहिले भएको नीतिहरुलाई कार्यान्वयन गर्ने र नयाँ यसैसँग सम्बन्धित नीतिहरु बनाइदिने हो भने ९० प्रतिशत फुटकर व्यवसायीले स्थान पाउने थिए । र फुटकर व्यवसायीको अवस्था पनि सुधार हुने थियो र हुन्छ पनि ।
(घिमिरे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष हुन्)

















