एमडीएमएस सिस्टम पूर्ण रुपमा लागू कहिले हुन्छ ?
वि.सं.२०८० असार २९ शुक्रवार १५:३१
shares

काठमाडौं, ३१ वैशाख । सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचना जारी गरेर जेठ १ गतेदेखि पूर्ण रुपमा यो सिस्टम लागू हुने जनाउको हो । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । यो सिस्टम कार्यान्वयनमा आएपछि अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।
नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए÷नभएको एकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । यसअघि नै लागू हुने भनिएको यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी वैदेशिक रोजगारीमा गएकाहरुले थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको थियो ।
यो निर्णयसँग अब सोमबारदेखि एमडीएमएस सिस्टम पूर्ण रुपमा लागू हुने नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले जानकारी दिए । यो व्यवस्था लागू भएपछि व्यवसायीहरुलाई पनि राहत मिल्ने उनको भनाइ छ । ‘अवैध रुपमा आएका मोबाइलको व्यापार यसले बन्द गर्छ । जसले गर्दा समग्रमा व्यवसायीहरुलाई राहत मिल्छ,’ उनले भने ।
व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्था आइसकेको अवस्था यो व्यवस्था लागू गर्दा निकै राहत हुने उनको तर्क छ । सिस्टम लागूभएपछि करिब ३० प्रतिशतले ब्यापार बढ्ने विश्वास गरिएको उनको भनाइ छ । पहिले झिटिगुन्टा आदेशको विषयमा ध्यान नदिएका कारण समस्या भएकाले यसमा संशोधन भएसँग यो विषयमा कुनै समस्या नहुने उनको विश्वास छ ।



















