Dhulikhel Eco Banner new

सेबोनको आगामी वर्षको प्राथमिकता : डिजिटलीकरण र लगानीकर्ता हित

1.35K
shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ मा पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको विस्तार र लगानीकर्ताको पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ।

बोर्डले बजारको गहिराइ बढाउने, वित्तीय उपकरणमा विविधता ल्याउने र संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्दै लगानीकर्ताको हित संरक्षणमा जोड दिने जनाएको छ।

धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई चुस्त बनाउने, लगानीकर्तालाई आवश्यक सूचना, शिक्षा तथा परामर्श दिने र नियामक निकायबीचको समन्वय बलियो पार्ने योजना बोर्डले अघि सारेको छ।

सार्वजनिक कम्पनीको वित्तीय विवरण थप पारदर्शी बनाउन नीतिगत सुधार गर्ने र कम्पनीको वित्तीय अवस्था अनुगमन गर्ने प्रणाली विकास गरिने बोर्डले उल्लेख गरेको छ।

यसैगरी मार्जिन कारोबारसम्बन्धी निर्देशिका पुनरावलोकन गर्ने तथा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका सरोकारवालासँग सहकार्य विस्तार गर्ने योजना पनि प्राथमिकतामा परेको छ।

कारोबार लागत घटाउने, प्राथमिक तथा दोस्रो बजारलाई प्रभावकारी बनाउने, नयाँ वित्तीय उपकरण भित्र्याउने र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को भूमिका बढाउने लक्ष्य पनि बोर्डले लिएको छ।

अन्त्यमा, डिजिटल प्रविधिमार्फत सर्वसाधारणको बजार पहुँच विस्तार गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार निर्माण गरी पूँजी बजारलाई थप आधुनिक र लगानीमैत्री बनाउने उद्देश्य बोर्डले राखेको छ।