प्रभु बैंकको सेकेण्डम्यान बने रिमाल, कामू सीईओ भइसकेका लम्साल तेस्रो वरियतामा
वि.सं.२०८३ भदौ ४ बिहीवार १३:३३
shares

काठमाडौं, ४ भदौ । प्रभु बैंकको सेकेण्डम्यानको जिम्मेवारी राज रिमालले पाएका छन् । केही दिन अघिमात्रै नायव महाप्रबन्धकमा नियुक्त भएका रिमाललाई सीईओ सुमन शर्माले आफू पछिको वरियता दिएका हुन् । रिमाललाई चिफ बिजनेस अफिसरको जिम्मेवारी दिइएको हो । यो जिम्मेवारीमा यसअघि रमेश श्रेष्ठ कार्यरत थिए । श्रेष्ठलाई सीईओ शर्माले जिम्मेवारीमुक्त गर्दै धनगढी सरुवा गरिदिएका छन् ।
उता, बैंकिङ क्षेत्रबाट बाहिरिएका रिमाल एक प्राइभेट कम्पनीमा काम गर्दै आएका थिए । प्रभु बैंकको सेकेण्डम्यान नै नियुक्त हुने भएपछि रिमालले प्राइभेट कम्पनीको आकर्षक जागिर छाडेर प्रभु पुगेका हुन् । दुई दशक बैंकिङ गरेका रिमाल ग्लोबल आइएमई बैंकबाट रिटायर्ड भएका थिए । बैंकमा रहँदा स्मार्ट बैंकरको परिचय बनाएका रिमाल सीईओ शर्माका विश्वासपात्रका रूपमा बैंकमा भित्रिएका हुन् ।
रिमाल भित्रिँदा प्रभु बैंककै कामू सीईओ भइसकेका निरज लम्सालको वरियता भने एक स्टेप तल झरेको छ । तत्कालीन सीईओ अशोक शेरचन र डीसीईओ मणिराम ज्ञवाली पक्राउ परेपछि निरज लम्सालले बैंकको नेतृत्व लिने अवसर पाएका थिए । अहिले भने लम्साल थर्डम्यानका रूपमा बैंकमा कार्यरत छन् भने सीईओ शर्माले उनलाई चिफ रिकभरी अफिसरको जिम्मेवारी दिएका छन् ।















