सुपर लघुवित्तलाई संस्थापक शेयर सीमाभित्र ल्याउन अल्टिमेटम
वि.सं.२०७९ असोज ४ मंगलवार १०:४५
shares

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई स्थापक शेयर सीमाभित्र ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले जारी गरेको ३ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन अनुसार एकाघरका परिवार सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै तहको पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने व्यवस्था रहेकोमा सो अनुसार नभएको पाइएकाले यस्तो निर्देशन दिइएशो हो ।
बैंकले जारी गरेको सूचना अनुसार लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत बुद्धिराम चौधरी, बरिष्ठ प्रबन्धक खुशीराम चौधरी र कनिष्ठ अधिकृत नरेश चौधरी एकाघर परिवारको रहेको र उनीहरुको नाममा ३० हजार कित्ताा शेयर रहेको भन्दै सो शेयर १ प्रतिशतभन्दा कम कायम गरी तीन दिन भित्र जानकारी दिन निर्देशन दिइएको छ । बैंकले जारी गरेको निर्देशन अनुसार बुद्धिरामको नाममा ८ हजार, खुशीरामको नाममा ९ हजार र नरेशको नाममा १५ हजार कित्ता शेयर रहेकोले उनीहरुको शेयर १ प्रतिशतभन्दा कममा कायम गर्न वा उनीहरुलाई अवकार दिएको जानकारी दिन निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले जारी गरेको निर्देशन अनुसार इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. ६/०७८ को बुदा नं. ३ को उपदफा ८ मा संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनी र निजको एकाघरका परिवार सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै तहको पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

















