Dhulikhel Eco Banner new

चीनको १५औँ पञ्चवर्षीय योजनाले नेपाल–चीन सहकार्य विस्तार गर्ने विज्ञहरूको निष्कर्ष

3.73K
shares

काठमाडौं, २६ माघ । चीनले अघि सारेको १५औँ पञ्चवर्षीय योजनाले नेपाल–चीन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना देखिएको भन्दै विज्ञहरूले यसबाट व्यावहारिक लाभ लिन नेपालले स्पष्ट रणनीति बनाउनुपर्ने बताएका छन्।

फ्रेन्डस अन क्लाउडको आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रमका क्रममा चीनसम्बन्धी अनुसन्धानकर्ता रोयल आचार्यले चीनको दीर्घकालीन विकास रणनीति र त्यसमा समावेश १५औँ पञ्चवर्षीय योजनाका प्राथमिकताबारे प्रस्तुति दिएका थिए। उनले चीनको योजनाले उत्पादन, सीप र सेवामा आधारित अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको उल्लेख गरे।

प्रस्तुत कार्यपत्र अनुसार चीनले राष्ट्रिय सुरक्षा र दीगो विकासलाई समानान्तर रूपमा अघि बढाउँदै युवा केन्द्रित नीति, सीपमूलक जनशक्ति विकास, सेवामूलक व्यापार विस्तार, कृषिजन्य उत्पादनको औद्योगिकीकरण, गुणस्तरीय उत्पादन प्रवर्द्धन र ग्रामीण क्षेत्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। उत्पादनको आधारमा लगानी आकर्षित गर्ने नीति योजनाको अर्को महत्वपूर्ण पक्ष रहेको बताइएको छ।

कार्यपत्रमाथि धारणा राख्दै अर्थविद् डा. रघु वाग्ले र विकासविद् डा। मुक्ति रिजालले चीनको योजनाबद्ध विकास अभ्यास नेपालका लागि उपयोगी उदाहरण भएको बताएका छन्। उनीहरूले चीनले बनाएको हरेक योजना लक्ष्यअनुसार कार्यान्वयन हुने गरेको उल्लेख गर्दै नेपालमा भने योजना बनाउने र कार्यान्वयनबीच ठूलो अन्तर देखिने गरेको टिप्पणी गरे।

विज्ञहरूका अनुसार चीनको तीव्र आर्थिक वृद्धिले उसलाई निकट भविष्यमा विश्व शक्तिको अग्रस्थानमा पुर्‍याउने आधार तयार गरेको छ। साथै, चीनले विश्वस्तरमै गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको उनीहरूको भनाइ छ।

कार्यक्रममा फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोतविद् कृष्णप्रसाद भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता श्याम घिमिरेलाई सम्मान गरेका थिए।