Dhulikhel Eco Banner new

निफ्राको नाफा २० प्रतिशत घट्यो, कर्जा विस्तार भने तीव्र

कर्जा विस्तारलाई तीव्रता

611
shares

काठमाडौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा गत आर्थिक वर्षमा करिब २० प्रतिशतले घटेको छ। बैंकले असार मसान्तसम्म ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब २३ करोड ४० लाख रुपैयाँ थियो।

ब्याज खर्च बढ्नु र खुद ब्याज आम्दानी घट्नुले बैंकको नाफामा दबाब परेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २३ दशमलव ८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको ब्याज खर्च भने ५६ करोड ९१ लाखबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज फिर्ता गरेकाले नाफामा अझ ठूलो गिरावट आउनबाट जोगिएको छ। नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि खुम्चिएको छ।

नाफा घटे पनि बैंकले कर्जा विस्तारलाई तीव्रता दिएको छ। पूर्वाधार आयोजना तथा ग्राहकमा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोडबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंकले ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जनाएको छ।

निक्षेप संकलन भने सामान्य बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा शून्य प्रतिशत छ। कस्ट अफ फन्ड ६ दशमलव ४६ प्रतिशत, आधारदर ६ दशमलव ७७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७९ दशमलव ९२ प्रतिशत कायम भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ।