‘महासंघको नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ’
वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:०५
shares

काठमाडौं, १७ फागुन । पछिल्लो समय व्यापार व्यावसाय चलायमान हुन सकेको छैन। उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको अवस्था छ । लगानी गर्ने वातावरण छैन् । लगनी गर्नका लागि आवश्यक पुँजीको अभाव छ । बैंकहरुले ऋण दिन सकिरहेका छैनन् । ऋण दिएपनि चर्को ब्याजदरका कारण व्यवसायीहरु थप समस्यामा परेका छन् । उद्योगी व्यवसायीहरु अहिले आन्दोलन गरिरहेका छन। पछिल्लो समय आन्दोलन गर्नु पर्ने अवस्था किन आयो ? समस्या समाधानका लागि कसले के गर्नु पर्छ ? नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका विषयमा केन्द्रित रहेर उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जित बहादुर कार्कीसँग केटिएम भ्वाइसकर्मी पुजा माझीले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय गौरादह क्षेत्रको उद्योग तथा व्यवसायको अवस्था कस्तो छ ?
अहिले सबैतिर देखिएको समस्या भनेको व्यवसायमा आएको ह्रास हो । यो गौरादहको मात्रै होइन समग्र देशकै समस्या हो । सबै क्षेत्रमा आर्थिक मन्दी रहेको छ । व्यापारको अवस्था शून्य छ । बजारमा तरलता अभाव छ । बैंकको ब्याजदर बढेको छ । यी सबै समस्याले गौरादहका व्यापारीहरुलाई पनि समस्या नै पारेको छ ।
सामान्य रुपमा भएको व्यापरले घरभाडा तिर्नका लागि पनि नपुग्ने अवस्था छ । व्यवसायबाट नै नाफा कमाएर जीवन चलाउने व्यवसायीहरुलाई अहिले घरभाडा तिर्नका लागि नै समस्या भइरहेको छ । व्यवसाय मुस्कीलले ३० प्रतिशत हुन्छ । यो अवस्थामा व्यवसायीहरु टिक्नै मुस्कील छ । हाम्रो क्षेत्र साना रहेको छ । कलकारखानाहरु त्यति छैनन् । भएका उद्योग कलकारखाना पनि बन्द भएको अवस्था छ ।
व्यवसायीहरुले बैंकको ब्याज र किस्ता बुझाउन नसकेको अवस्था छ । अर्को तर्फ नयाँ जोस जाँगर लिएर व्यवसाय गर्न खोजिरहेकाहरु पनि व्यवसाय गर्ने मनिस्थितिबाट बिमुख हुँदै गइरहेका छन् । यो समग्र व्यवसाय र राज्यका लागि नै ठूलो चुनौतिको विषय हो ।
बैंकको ब्याजदर पनि बढेको छ । ऋण पनि सजिलै पाउन नसक्ने अवस्था छ यसको असर चाँहि निजी क्षेत्रमा कस्तो परेको छ ?
पछिल्लो समय व्यवसायीहरुका लागि सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको विषय नै बढेको ब्याजदर हो । जसका कारण व्यवसायी तथा उद्योगीहरु निकै मर्कामा परेका छन् । यसले साना ठूला सबै व्यवसायीहरुलाई समस्या पारेको छ । बैंकको ब्याज बढेको छ । त्यसका लागि छुट्याउने रकम बढेको छ । तर कारोबार घटेको छ । आफै भन्नुस् व्यापार कम भएको बेला बढी रकम भुक्तानी गर्नका लागि कति समस्या हुन्छ होला ?
व्यवसाय बढाउनका लागि लगानी गर्ने सक्ने क्षमता पनि छैन । बैंकहरुले ऋण दिन नसकेको अवस्था छ । अर्को तर्फ चर्को ब्याजदरमा व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था पनि छैन । ऋण पाउनै मुस्कील छ पाइहालेको अवस्थामा पनि विभिन्न बहानामा २५ प्रतिशत जति रकम कटौति हुन्छ ।
सबै प्रकिया सकेपछि प्राप्त भएको रकम लगानी गरेर व्यवसाय सुरु गरिन्छ । तर बजारमा उभोपक्ताको क्रयशक्ति घटेका कारण व्यापार हुन सक्दैन । खाली ऋणको ब्याज तिर्नका लागि टाउको दुखाउने बाहेक अरु केही हुदैन् । उत्पादन गरेर सामान बिक्री भएन भने त्यसको के अर्थ भयो र ? यहि अवस्था रहेको खण्डमा व्यवसायीहरु पलायन हुने अवस्था आउँछ । व्यवसाय गरेको रकमबाट घरभाडा र ब्याज तिर्न पनि पुग्दैन । अनि के खाने के गर्ने पलायन हुन बाहेक अन्य विकल्प नै देखिदैन ।
यो समस्या आउनुको मुख्य कारण के हो जस्तो लाग्छ ?
व्यवसायी क्षेत्रमा अहिले देखिएको समस्या आउनुको मुख्य कारण भनेको राष्ट्र बैंकले लिएको नीति नै हो । राष्ट्र बैंकको नीतिकै कारण बैंकको ब्याजदर बढेको हो । जसका कारण व्यवसायमा मन्दी आयो भने उपभोग्य वस्तुको मूल्यमा भारि वृद्धि भएको अवस्था छ । जसका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आइरहेको छ ।
अर्को तर्फ विश्वव्यापी रुपमा आएको मन्दी पनि कारण हो । जसले सबै क्षेत्रलाई प्रभाव पारेको छ । उपभोक्तासँग पैसा छैन । बजारमूल्यमा भारी वृद्धि भएको छ । उद्योगी व्यवसायीले उत्पादन गरेको वस्तुले पनि बजार पाउन सकेको छैन । जसोतसो उत्पादन गरेको वस्तु पनि भण्डार गरेर राख्नु पर्ने वाध्यात्मक अवस्था छ ।
तपाइको विचारमा सरकारले वा राष्ट्र बैंकले अहिलेको अवस्थालाई सहज बनाउन कस्ता कदम चाल्नु पर्ला ?
बाहिरको प्रभावलाई त नेपालले समाधान गर्न सक्ने अवस्था हुदैन र सम्भव पनि छैन । तर आन्तरिक समस्याहरु भने समाधान गर्न सकिने अवस्था हुन्छ । बैंकको ब्याजदर कम गर्ने देखि राष्ट्र बैंकले लिएका नीतिहरुलाई केही संशोधन गरेको खण्डमा सहज हुने अवस्था देखिन्छ ।
बैंकको ब्याजदर एक विन्दुमा झार्नु प¥यो । जुन सरोकारवाला निकायले गर्न सक्ने काम हो । दोहोरो अंकको पनि १० प्रतिशतमा कायम गरेको भए पनि व्यवसायीलाई धेरै मर्का पर्ने थिएन । जसले व्यवसायीमा देखिएको निराशालाई केही मात्रामा कम गर्ने थियो ।
बैंकको ब्याजदर निकै धेरै घटाउँदा पनि निक्षेपकर्ताहरु मारमा पर्ने भएकाले सबैलाई सहज हुने गरी ब्याजदर निर्धारण गर्नु पर्ने हुन्छ । राज्यले सबै पक्षलाई ध्यान दिएर सबैलाई बचाउनु पर्ने दायित्व भएकाले सोही अनुरुप काम गर्नु पर्छ ।
आर्थिक मन्दी हाम्रो देशमा मात्र छाएको हैन । विश्वव्यापी रुपमा आएको मन्दी हो त्यसैले सबै मिलेर यसको सामना गर्नुपर्याे । सरकारले व्यवसायीलाई मर्न दिनु भएन । बैंकहरु चाहि खाली नाफा मात्र खोज्छन एकलरुपमा आफ्नै मनोमानीमा अडिक रहेका छन् । हामी व्यवसायीले त मात्र ब्याजदर अलि कम गरिदेउ त भनेको हो नि ।
व्यवसायीको व्यवसाय फस्टाओस नफस्टाओस जतिसुकै मन्दी भएपनि ब्याज घटाउन मान्दैनन् । बरु बढाउन तर्फ लाग्छन् । यो नीतिलाई चाँहि हटाउन पाए केहि राम्रो हुने थियो । व्यवसायीको बिषयमा बैंक तथा वित्तीय संस्थाहरुपनि जवाफदेही र जिम्मेवार हुनु पर्यो । अहिलेको समस्या समाधान गर्नका लागि सबै पक्ष (बैंक, व्यवसायी, सरकार) मिलेर समन्वय गरेर जानु पर्ने आवश्यकता छ । एकले अर्कालाई दोष देखाउने भन्दा पनि सबै मिलेर समाधान खोज्नु पर्ने आजको आवश्यकता हो ।
बैंकको ब्याजदर बाहेक निजी क्षेत्रमा अरु समस्याहरु छैनन् त ?
मुख्य समस्या त्यहि नै हो । राज्यको नीतिगत समस्या नै मुख्य हो । जसले बैंकको ब्याजदर बढेको छ । व्यक्तिपिच्छे कानुन बनाएको अवस्था छ । ठूला र साना व्यवसायीहरुलाई लाग्ने कानुन छुट्टै छ । अनि साना र ठूला व्यवसायीलाई गरिने व्यवहार पनि फरक रहेको छ ।
अलिकति पावर भएका राजनितिक पार्टीसँग सम्बन्धित व्यक्तिहरुको लागी बनाईएको नीति छुट्टै हुन्छ । हो यस्ता खराब नीतिगत सिद्धान्तहरुको कारण साना तथा मझौला व्यवसायीहरु बढी मारमा परेका छन् ।
अर्काे कुरा नीति निर्माणमा बसेका कर्मचारीहरुलाई पनि सरकारले आफ्नो व्यक्तिगत स्वार्थनुरुप फेरबदल गरिरहन्छ । त्यसकारण पनि व्यवसायीक क्षेत्रमा लगानी गर्न गाह्रो छ । आज एउटा नियम कानुन अनुसार लगानी ग¥यो । अनि भोलि नै त्यो नीति परिवर्तन भइदिन्छ । जसले व्यवसायी बढी मर्कामा छन् । यी बाहेक बजारको अभाव, ढुवानी समस्या, कच्चा पदार्थको अभाव लगायतका समस्याहरु त व्यवसायीले सधै भोग्दै आएको कुरा नै हो । तर अहिले ठूलो समस्या ब्याजदर देखिएको छ ।
स्थानीय उत्पादनले कत्तिको सहज रुपमा बजार पाएका छन् ?
स्थानिय उत्पादनहरुले बजार पाउन मुस्किल नै छ । अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धामा स्थानीय उत्पादन आउन सक्दैन् । हुनत हाम्रो क्षेत्र सानो छ । त्यसैले त्यति समस्या भोग्नु परेको छैन् । तर व्यवसायीहरुले समस्या भने भोगिरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा उत्पादीत वस्तु खेर गइरहेको पनि छ ।
सरकारले पनि स्थानीय उत्पादनलाई कुनै प्रोत्साहन गरेको अवस्था देखिदैन । हामी जस्ता साना व्यवसायीहरुमा राज्यले दिने सेवा सुविधा नै आइपुग्दैन । अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नका लागि हामीलाई चाहिने सहुलियत लगायतका विषयमा राज्यले चासो दिएको छैन् । जसले गर्दा स्थानीय रुपमा व्यवसाय गर्न खोज्नेहरु थप निराश भएको अवस्था छ ।
राज्यले हामी कुन–कुन क्षेत्रमा सफलता पाउन सक्छौ त्यस्ता पक्षहरुलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउन सकेको खण्डमा स्थानीय रुपमा उत्पादनमा वृद्धि हुने थियो । स्थानीय उद्योगी व्यवसायीहरुलाई तालिमहरु दिनु प¥यो, अनुदान र सम्मानका बिषयलाई अगाडि सार्नु प¥यो । किसानको लागि समयमा विउ मल र सिचाइको व्यवस्था पनि गरिदिनु प¥यो । अनि बल्ल व्यवसायीक पक्षहरुमा स्ुधार आउँछ ।
उत्पादनशील क्षेत्रमा राज्यले पनि लगानी गर्नु प¥यो, फेरी उत्पादन नहुने ठाउँमा पैसा खन्याउन पनि रोक्नु प¥यो । त्यसका लागि अध्ययनको आवश्यकता पर्छ । आज एउटा व्यवसायीले लगानी गरेर राम्रो मुनाफा ग¥यो भने अरु व्यवसायीहरु पनि देखासिखी गरेर त्यहि र त्यस्तै प्रकिृतिको व्यवसाय गर्ने परिपाटीको विकास भयो । अनि एकअर्कामा टोकाटोक गरेर मर्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउँदै छ । आगामी नेतृत्व कस्तो आउनु पर्छ ?
हाम्रो विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने व्यवस्था रहेको छ । जसले गर्दा हामीले आगामी कार्यकालको नेतृत्वका लागि अहिले चुनाव गर्दै छौँ । अहिलेको नेतृत्व कस्तो हुने भन्ने सबैलाई जानकारी भइसकेको छ । अब हामीले अर्को पटकको नेतृत्व चयन गर्दैछौँ ।
अब चैत पछि आउने नेतृत्वले व्यवसायीको भावना बुझेर समस्या समाधानका लागि काम गरोस् भन्ने हाम्रो चाहाना हो । साना ठूला सबै व्यवसायीहरुलाई समेटेर जान सक्ने नेतृत्वको आवश्यकता छ । नेतृत्वमा पुगेपछि साना तथा मझौला व्यवसायीहरुका समस्याका विषयमा ध्यान दिन नसकेको भन्ने गुनासाहरु छन् ।
अबको नेतृत्वले यस्तो अवस्था सिर्जना नगरोस् भन्ने मेरो सुझाव छ । महासंघ जस्तो एउटा जिम्मेवार पदका नेतृत्वबाट नै यस्ता असमान व्यवहार भएपछि त व्यवसायीले के आस गर्ने । महासंघको नेतृत्वबाट सुधार गर्नेपर्ने धेरै पक्षहरु रहेका छन् ।

















