नबिलको वितरणयोग्य मूनाफा २८७ करोड, नाफामा ८ प्रतिशतको वृद्धि
वि.सं.२०८२ वैशाख ७ आइतवार ०९:००
shares

काठमाडौं, ७ वैशाख । शक्तिशाली कमर्सीयल बैंकको ताज पहिरिएको नबिल बैंकले पछिल्लो ९ महिनामा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफामा सामान्य वृद्धि भएपनि सम्भवतः यो रकम अन्य बैंकहरुको भन्दा धेरै हो । नबिल बैंकको अन्य सूचकहरु भने सकारात्मक छन् । अन्य सूचकहरुले बैंक वलियो अवस्थामा छ भन्ने पुष्टि हुन्छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।
९ महिनामा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

















