Dhulikhel Eco Banner new

देशभर मनसुन सक्रिय,केही स्थानमा भारी वर्षाको सम्भावना

1.83K
shares

काठमाडौं, २९असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने देखिएकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागले चेतावनी दिएको छ।

साथै, ठूला–साना नदी, नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।