सुपर लघुवित्तले राष्ट्र बैंकले मागेको स्पष्टीकरण बुझाएन
वि.सं.२०७९ असोज २८ शुक्रवार १०:०७
shares

काठमाडौं, २८ असोज । समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिने भएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले मागेको स्पष्टीकरण नबुझाएकाले लघुवित्तलाई केन्द्रीय बैंकले नियन्त्रणमा लिने भएको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार लघुवित्तलाई केही समयका लागि राष्ट्र बैंकले नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने कार्य गर्छ । लघुवित्त सुपरिवेक्षण विभागले सुपर लघुवित्तलाई ३५ दिन भित्र स्पष्टीकरण पेश गर्नका लागि भदौ २२ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । ३५ दिनमो म्याद मंगलबार सकिएको छ ।
स्पष्टीकरणको समय सकिएको र अहिले लघुवित्तका कायममुकायम प्रमुख कार्यकारी अधिकृत वृद्धिराम चौधरीले राष्ट्र बैंकका कर्मचारीहरुले गरेको फोन समेत उठाउन छाडेको बताइएको छ । ‘३५ दिनको म्याद सकिएको छ, यो लघुवित्तलाई राष्ट्र बैंकल नियन्त्रणमा लिन्छ, अहिले गर्भनर देश बाहिर रहेकाले यो सम्बन्धी निर्णय गभर्नर आएपछि हुन्छ,’ अधिकारीले भने ।
राष्ट्र बैंकको बोर्डले निर्णय गर्नु पर्ने भएकाले केही ढीलाई हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले नियन्त्रणमा लिए पछि सो संस्थाका सञ्चालकहरु पदमा बस्न नमिल्ने भएकाले यो लघुवित्तलाई अर्कोसँग मर्ज गर्ने वा कसैलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने विषय पछि मात्रै जानकारी हुने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ । यस्तो अवस्थाको संस्थालाई कसैले पनि लिने सम्भावना भने कम रहेको उनले बताए ।
लघुवित्तमा २३ करोड रकम अनियमितता भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रहरीले पनि पत्र लेखेर कानुनी कारबाही अगाडी बढाउन आग्रह गरेको थियो । प्रहरी अहिले लघुवित्तका सञ्चालकका विरुद्धमा बैंकिङ कसुरमा उच्च अदालत तुलसिपुरमा मुद्दा दर्ता गराएको छ । राष्ट्र बैंकको निवेदनका आधारमा प्रहरीले अनुसन्धान गरेको र बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।
यो लघुवित्तको अध्यक्ष किरण चौधरी भए पनि उनका बुबा ज्योति चौधरीको हस्तक्षेप रहेको थियो । लघुवित्तलबाट नक्कली ऋणी कडा गरेर उनीहरुले पैसा हिनामिना गर्ने गरेका थिए । किरणलाई प्रहरीले अहिले पनि खोजिरहेको एसपी वलीको भनाइ छ । तर लघुवित्तका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) बुद्धिराम चौधरी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कामु सीईओ बुद्धिराम चौधारी, तुलसीपुर शाखाका प्रमुख सञ्जीव चौधरी, बिजौरी शाखाका प्रमुख यशोदा थापा र कुसुम चौधरी पक्राउ परेका छन् ।
प्रहरीले निरन्तर खोजि गरिरहेका किरण र उनका बुबा काठमाडौं रहेको बताइएको छ । २०५९ सालदेखि दाङमा केन्दीय कार्यालय स्थापना गरी सेवा प्रवा गरेको लघुवित्तले ५८ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
















