बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:००
shares

काठमाडौं, २५ भदौ । वित्तीय साक्षरताको आजको अंकमा बैंक तथा वित्तीय संस्थामा बचत गर्दा हुने फाइदाका विषयमा कुरा गर्दैछौँ । एक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकमलाई बचत भनिन्छ । खर्च गर्दा हामीले अत्यावश्यक खर्च, योजना बनाएको खर्च, कर्जा तिर्न, वैकल्पिक खर्च गर्न, आकस्मिक खर्च गर्न र व्यापार गर्न गरिने खर्च विभिन्न शीर्षकमा छुट्याएर मात्र गर्दा खर्च कम हुन्छ र धनको व्यवस्थापन सहज तरिकाले गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्था कानुनतः इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा बढी सुरक्षित हुन्छ ।
तोकिएको समयमा निश्चित ब्याज पाइन्छ । घरमै रकम राखियो भने त्यसबाट ब्याज त आउँदैनन् हराउने डर पनि हुन्छ ।
पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंक/वित्तीय संस्थाबाट तिर्ने सुविधाहरू पाउन सकिन्छ ।
बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ ।
ठूलो संस्था भएकाले लेखापरीक्षण हुने, हरेक वर्ष वार्षिक साधारणसभा गर्दा लगानीकर्तालाई जवाफ दिनुपर्ने, सञ्चारमाध्यमले आलोचना गर्न सक्ने, अधिकारप्राप्त संस्थाहरूबाट नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन हुने भएकाले विश्वासिलो हुनाको साथै कानुनी रूपले बचत सुरक्षित हुन्छ ।



















