के हो म्युचुअल फण्ड ?
वि.सं.२०८१ भदौ ३० आइतवार ०९:१६
shares

काठमाडौं, ३० भदौ । म्युचुअल फण्ड कुनै कम्पनीको धितोपत्र वा शेयरजस्तै एक किसिमको सुरक्षण हो । यो हजारौँ लगानीकर्ताहरूले गरेको लगानीको कुल रकम हो । म्युअुचल फण्डको सञ्चालन इजाजतपत्रप्राप्त फण्ड म्यानेजरले गर्दछ ।
म्युचुअल फन्ड खरिद गर्दा एकाइमा खरिद गर्नु पर्दछ । नेपालमा म्युचुअल फन्ड खरिद गर्दा एक एकाइको लागि मूल्य १० रुपैयाँ कायम गरिएको छ । म्युचुअल फन्ड पनि धितोपत्रजस्तै पुँजी निर्माणको आधार हो । म्युचुअल फन्डमा लगानी गर्नाले लगानीकर्ताले आफ्नो बचतलाई बैंक तथा वित्तीय संस्थामा राख्दा प्राप्त गर्ने ब्याजभन्दा धेरै रकमको प्रतिफल प्राप्त हुन्छ ।
म्युचुअल फण्डमा जम्मा भएको रकमलाई फण्ड व्यवस्थापकले विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । यसले गर्दा कथंकदाचित कुनै एक क्षेत्रमा समस्या भइहाले पनि अन्य क्षेत्रबाट प्राप्त हुने प्रतिफलले लगानीलाई डुब्न दिँदैनन् ।
तसर्थ, म्युचुअल फण्डमा लगानी गर्दा लगानीकर्ताले व्यहोर्नुपर्ने जोखिमलाई पनि घटाएर न्यूनतम बनाइदिन्छ । नेपालमा म्युचुअल फण्डको कारोवार धेरै नयाँ नभए तापनि धेरै विकसित भएको पाइँदैन । हाल नेपालमा म्युचुअल फण्डको कारोबार गर्ने संस्थाहरू १३ वटा रहेका छन् ।














