अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान
वि.सं.२०८० वैशाख ८ शुक्रवार ०८:१७
shares

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । विदेशबाट आउने पर्यटकबाट आउने रकमले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान दिएको छ । तर पछिल्लो समयमा कोभिड महामारीका कारण यसमा ठुलो धक्का पुगेको अवस्था छ । कोभिडका कारण सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र कुनै छ भने त्यो पर्यटन क्षेत्र हो । कोभिडको समयमा विदेशी तथा स्वदेशी पर्यटकको आवागमन ठप्प नै भयो । कोभिडपछि देखिएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षत्रमा असर गरेको छ । हुन त केही मात्रामा सुधार हुँदै गएको छ । कोभिडको समयको भन्दा सुधार त भएको छ । तर आर्थिक मन्दीको पनि यसमा प्रभाव परेको नै छ ।
पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तथ्यांकले देखाएको छ । गत वर्षको अक्टोबरमा हामीले अपेक्षा गरेको भन्दा धेरै पर्यटक नेपाल आए । जसलाई हामी अटम सिजन भन्छौँ । नेपालको जिडीपी वृद्धि, रोजगारी सिर्जना र त्यसले पारेको प्रभावको पूर्ण विवरण त आइसकेको अवस्था छैन । तर हामीले सोचेको भन्दा धेरै पर्यटकको आगमन भयो । जसबाट व्यवसायीमा धेरै राहतको महसुस भएको छ ।
अहिले स्प्रिङ सिजन हो । यो समयमा पदयात्रा, पर्वतारोहण र अन्य गतिविधिका लागि पनि निकै उपयुक्त समय हो । यो सिजनमा अटम सिजनको भन्दा धेरै पर्यटक आउने अपेक्षा र प्रक्षेपण पनि गरेका छौँ । यसले नेपालको अर्थतन्त्र, रोजगारीको सिर्जना र व्यवसायीमा कोभिडपछि मुस्कानको महसुस गराउँछ । व्यवसायमा उर्जा थपेर व्यवसायीको दैनिक सहज हुने अवस्था अहिले देखिएको छ । हामीले सन् २०२४ मा पर्यटनबाट आर्थिक वृद्धि हुन्छ भन्न सक्ने अवस्था छ ।
यो अवस्थालाई नै पूर्णरुपमा हामीले यो व्यवसाय पुरानो लयमा फर्कियो भन्न सक्ने अवस्था त छैन । नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा हामी सबै जानकार नै छौँ । यसबाट पर्यटन व्यवसायीहरु दोहोरो मारमा परेका छन् । पहिला कोराना महामारीका कारण निकै सहज अवस्था भयो भने अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण हामी व्यवसायीहरु निकै मारमा रहेका छौँ ।
हाम्रो मुख्य उद्देश्य बढीभन्दा बढी पर्यटक आउने वातावरण पहिचान गर्न खोजिरहेका छौँ ।
पहिचान गरेर मात्रै हुँदैन तसर्थ हामी त्यसलाई कार्यान्वयन गर्नेतर्फ लागिरहेका छौँ । किनभने अर्थतन्त्रलाई सुधार गरेर आर्थिक वृद्धि गर्नुपर्ने छ । त्यसका लागि धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनुपर्ने आवश्यकता छ । यसका साथै पर्यटन क्षेत्र भनेको छिट्टै रोजगारी सिर्जना गर्ने क्षेत्र पनि हो ।
पर्यटकको आगमनसँगै होटल व्यवसायदेखि लिएर अन्य व्यवसाय पनि चलायमान हुनमा मद्दत पुग्छ । त्यसैले हामीले पर्यटन व्यवसायलाई प्रमोसन गर्नुपर्ने हुन्छ । प्रमोसनका हिसाले हेर्दा पर्यटन व्यवसाय निकै बृहत् छ । यो क्षेत्रमा हरेक दिन नयाँ छ । म ३० वर्ष यो क्षेत्रमा लागेको व्यक्ति । हरेक दिन नयाँ प्रविधि र नयाँ पर्यटकीय गतिविधिको विकास भएको अवस्था छ । प्रविधिको विकाससँगै व्यवसायीहरु पनि त्यसैअनुसार रुपान्तरित भएर जानुपर्ने अवस्था छ । हिजोको जस्तो पर्यटन व्यवसाय उद्योग हामीले सेल्फ इम्प्लोइका रुपमा काम गरौँ । अहिले त्यो अवस्था छैन । गुणस्तरीय रुपमा हामीले सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।
प्रचार गर्ने कुरा गर्दा हामी नेपाललाई पर्वतीय र एडभेन्चर गन्तव्यका रुपमा लिन्छौँ । तर जहिले पनि हामीले एजभेन्चरको मात्रै प्रचार गरिरहेका छौँ जस्तो लाग्छ । यो त्यति सान्दर्भिक होइन । विश्व पर्यटक एडभेन्चर पनि छ । लक्जरियस पनि छ । यसरी हेर्दा पर्यटकहरु विभिन्न विधाका रहेका छन् । केही पर्यटक सगरमाथा आरोहण गर्ने मात्रै छन् भने केही फेरि पदयात्रा मात्रै गर्न रुचाउने मात्रै पनि छन् । अनि अर्को तर्फ हाइपास गर्ने, सामान्य हाइकिङ गर्ने मात्रै छन् । कोही सामान्य मध्यम हिलमा हिड्ने मात्रै छ । केही र्याफ्टिङ गर्ने छ भने केही पर्यटक तराइ मात्रै जाने पनि छ । विश्व सम्पदा सूचीमा अवलोकन गर्ने पनि छन् ।
केही पर्यटक बन्जीजम्प गर्न मात्रै पनि आउँछन् । त्यस्तै जंगल सफारीका लागि पनि नेपाल आउने गरेका छन् । यसरी हाम्रोमा धेरै पर्यटकीय उत्पादनहरु छन् । यी सबै पर्यटक उत्पादनहरुलाई हामीले सही रुपमा प्रचार गर्नुपर्ने हो । तर त्यो हुन सकेको छैन । हाम्रो प्रमोसन (प्रचार) खाली माउन्ट एभरेष्ट र लुम्बिनीको मात्रै कुरा गरिरहेका छौँ ।
धार्मिक पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण होला । त्यस्तै पशुपति, मुक्तिनाथ पनि त्यसका लागि आकर्षक गन्तव्य हुन सक्ने भए । क्लाइमेक्सका लागि ६ हजार मिटर ७ हजार मिटर ८ हजार हिमालहरु उपयुक्त गन्तव्य हुन् । के हाम्रो पर्यटक क्षेत्र त्यति मात्रै हो त ? अहिले हामीले यी ठाउँहरुको मात्रै प्रचार गरिरहेका छौँ ।
अब यसमा परिवर्तन गरेर हामीले मिडिल हिलको पनि प्रचार गर्नुपर्ने छ । हाम्रो उत्पादन उमेरको हिसाबले, देशको हिसाबले, सिटीको हिसाबले प्रचार गर्नुपर्ने आवश्यकता रहेको छ । कुन देशका मानिसहरु कुन उमेर समूहका धेरै आउँछन् । कुन शहरबाट धेरै आउँछन् र कुन प्रोडक्टलाई मन पराउँछन् भनेर छुट्याउनु पर्ने जरुरी छ । हामीले सगरमाथाको फोटो टाँसेको ब्रोसर देखाएर, धार्मिक स्थलहरुको प्रचार गरेर मात्रै पुग्दैन ।
ब्राण्ड त सगरमाथा हो, यसमा कुनै शंका छैन् । यो नेपालमा पर्छ भनेर त्यसको फाइदा लिन सकिन्छ । एडभेन्चर मात्रै भनेर कतिपय विदेशीहरु तर्सिरहेको अवस्था छ । डेन्जर कन्ट्री वा क्लाम्बिङ गर्ने देशका रुपमा मात्रै चिनिएको छ । यो अवस्थामा जो लक्जरियस् पर्यटक छन् । जो हिड्न सक्दैनन् उनीहरुका लागि त यो बिकर्षण हुन्छ । हामीले त पर्यटक आकर्षण गर्नुपर्ने छ ।
हामीले हेरिटेज होटलमा फुडको टुरिजम लिएर पनि जान सक्छौँ । आनन्दसँग खाना खाने र नेपाली होटलमा बेलको जुस खाएर वल्र्ड हेरिटेज साइटको भिजिट गर्न जाने पर्यटक पनि छन् । जुन पर्यटक हेलिकप्टरमा टुर गरेर आनन्दसँग रमाइलो गर्न चाहन्छन् । यस्तो किसिमको विषयमा हामीले प्रचार गर्न सकेका छैनौँ । यस्ता लक्जरियस् पर्यटकलाई प्रमोसन गरेको खण्डमा हाम्रो आर्थिक उपार्जन छिटो हुन्छ ।
हाम्रो प्रोडक्टलाई सही रुपमा अन्तराष्ट्रिय रुपमा प्रचार गर्न नसक्नु लगायतका विविध कुराहरु हाम्रा समस्या हुन् । अहिलेसम्म जति गरिएको छ, त्यो निजी क्षेत्रको अनुभव र दक्षताका आधारमा गरेका छौँ । त्यो व्यक्तिगत जस्तो भयो, त्यसका लागि नेपाल सरकार खासगरी पर्यटकको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले त्यसलाई विभाजन गरेर अन्तराष्ट्रिय रुपमा प्रचार हुनुप¥यो । हिजोको जस्तो ब्रोसर बोकेर जाने प्रचार होइन । हाम्रा डकुमेन्ट सो गर्ने समय पनि होइन । अब गर्ने भनेको डिजिटल प्रचार हो । नेपाल पर्यटन बोर्डले त्यतातर्फ लाग्नुपर्ने आवश्यकता छ ।
लक्जरियस पर्यटक ल्याउन सबैभन्दा पहिले सरकारले पर्यटन उद्योगलाई बुझ्नुपर्ने हुन्छ । पर्यटक भनेको के हो ? पर्यटकले के मन पराउँछन् ? के उत्पादन प्रदर्शन गर्दा हुन्छ ? केमा पर्यटक आकर्षण हुन्छ भन्ने विषय बुझ्नुपर्ने हुन्छ । खाली होलसेलमा पर्यटन भनेर मात्रै हुँदैन । उनीहरुको टेष्टका विषयमा पनि ध्यान दिनुप¥यो । मिडिलहिलको मात्रै पर्यटक आउन सक्ने अवस्था छ भने हामीले माउन्ट एभरेष्ट र क्लाम्बिङको कुरा मात्रै गरेर हुँदैन । उनीहरु त्यसमा आकर्षित हुँदैन । उनीहरुका लागि त मिडिलहिलकै कुरा गर्नुपर्ने हुन्छ ।
आकर्षण हुने विधाहरुलाई पहिचान गरेर सोही अनुसारको प्रचार गर्नुपर्ने आवश्यकता रहेको छ । मानौँ, हाम्रोमा एक वर्षको अवधिमा ४५ हजार पर्यटक अमेरिकाबाट आए । तर सोही अवधिमा १४ हजा पर्यटक अष्ट्रेलियाबाट आए । जनसंख्याको हिसावले त अमेरिकाबाट आउने निकै न्यून भयो । यो अवस्थामा हामीले अमेरिकामा होइन अष्ट्रेलियामा प्रमोसन गर्नुपर्ने रहेछ । हामी खाली अमेरिका र युरोपका देशमा मात्रै दौडिरहेका छौँ ।
त्यही अनुपातको खर्च गर्ने पर्यटक भियतनाम, फिलिपिन्स, मलेसिया, सिंगापुरमा छन् । अथवा यही नजिकको भारत र चीनमा पनि त्यो पर्यटक छन् । सार्कको बंगलादेश र श्रीलंकामा पनि त्यो पर्यटक छ । यदि यस्तो हो भने किन बढी खर्च गरेर अमेरिका र युरोप कुद्ने ? ८०/९० हजारमा भियतनामबाट पर्यटक ल्याउन सकिन्छ भने ६/७ लाख खर्च गरेर टाढा किन जानु पर्यो ?
म त डिजिटल प्रविधिमा विश्वास गर्छु । हिजोका दिनमा हामी हुलाकबाट बेलायतमा चिठ्ठी पुग्न ३५ दिन लाग्थ्यो । अनि नेपालमा आउनक ३५ दिन लाग्थ्यो । हामीले ६ महिनामा ट्रेकिङ ट्रिप गर्ने गरेका थियौँ । अहिले मिनेटमा विदेशी पर्यटकले बुकिङ गरेको अवस्था छ । यो मेरो अनुभव हो । मैले सबै व्यवसायीलाई पनि यो भनेको छु । हामी डिजिटल र अनलाइनमा जाउँ । यो निकै सहज हुन्छ । अहिलेको जमनामा हामी आफूले लगाउने पोसाक त अनलाइबाट छानेर लिन सक्छौँ भने घुम्ने गन्तव्यका लागि त त्यो निकै सहज कुरा हो ।
हामीले आफ्नो प्रोडक्टलाई शो गरेर पर्यटकलाई आकर्षण गर्न सक्छौँ । प्रोडक्ट शो गर्ने रमूल्य राख्ने तथा आवश्यक सूचनाहरु राखेको खण्डमा केही सेकेण्डमा बुकिङ गर्न सकिन्छ । यसका लागि पर्यटन बोर्डले काम गर्नुपर्यो । ट्राभल, ट्रेकिङ्, होटल एअरलाइन्स, र्याप्टिङ र हेलिकप्टरलाई रजिष्टर्ड गर्नुपर्यो ।
विदेशमा बसेका नेपालीले पठाउने रेमिट्यान्स भनेको बालबच्चाको फि र बुबा आमाको सामान्य दैनिक खर्च चलाउनका लागि हो । आवश्यकता पुरा गर्ने हिसाबले निकै थोरै मात्रामा मात्रै रेमिट्यान्स नेपाल आएको छ । समग्रमा धेरै हो तर व्यक्तिगत रुपमा हेर्दा यो निकै सानो मात्रामा छ । दैनिक खर्च चलाउन हामीले रेमिट्यान्स पठाउनु परेको अवस्था छ । त्यसमाथि यो दीर्घकालीन पनि होइन । यो उत्पादन पनि होइन ।
रेमिट्यान्स उत्पादनमा पनि लगाउन सकिएको छैन । हाम्रो पैसा उत्पादनशील क्षेत्रमा लगानी भएको खण्डमा त्यसले रोजगारी सिर्जना गर्छ । तर अहिले आएको रेमिट्यान्स मोबाइल खरिद गर्न फेरि विदेश नै गइरहेको छ । आन्तरिक पर्यटकले जिडीपीमा योगदान दिन सक्दैन । इलामको पैसा डढेलधुरा र डोटीको पैसा काठमाडौं आउने मात्रैले त्यसले अर्थतन्त्रमा कुनै पनि योगदान दिन सक्दैन । तसर्थ हामीलाई विदेशी पर्यटक नै चाहिन्छ ।
देशको विकास गर्न विदेशी डलरल नै चाहिन्छ । आन्तरिक पर्यटक घुम्न जाँदा देशभित्रको पैसा देशभित्रै घुम्ने मात्रै हो । आर्थिक क्षेत्र चलायमान हुन भने केही सहयोग पुग्छ । तर देशको विकासमा यसले सयोग पुग्दैन । त्यो त एउटा दराजमा भएको पैसा अर्को दराजमा मात्रै पुगेको हो । जिडीपीमा वृद्धि गर्न विदेशी पर्यटक नै चाहिन्छ र त्यसका लागि विदेशबाट पर्यटक नै ल्याउनुपर्छ ।
देशको विकासका लागि डलर आउन जरुरी छ । त्यसका लागि आयात गर्ने उद्योगी व्यवसायीलाई उत्सासित बनाएर बढीभन्दा बढी डलर ल्याउने वातावरण बनाउनुपर्यो । अनि पर्यटन व्यवसायमा रहेकाहरुलाई प्रोत्साहन गरेर धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउन सकियो भने नेपालको आम्दानी बढ्छ । त्यो देशका लागि महत्वपूर्ण सावित हुन्छ ।
(सुवेदी, ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष हुन् ।)

















