नेक्सजेनले सम्पन्न गर्यो इनोभेटर्स मिट, युवाहरुले जनाए सक्रिय सहभागिता
वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२७
shares

काठमाडौं, ९ वैशाख । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काठमाडौंमा युवा इनोभेटर्सहरूको भेला सम्पन्न गरेको छ । नेक्सजेनले आनन्द भुमि बिजनेस सेन्टरमा आयोजना गरेको कार्यक्रममा युवा इनोभेटर्सहरुले भव्य रुपमा सहभागिता जनाएका छन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व सीईओ तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताव शाह प्रमुख अतिथिका रुपमा सहभागी थिए ।
महालक्ष्मी विकास बैंक, महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्यारेन्स, एशियन लाइफ इन्स्यारेन्स, महालक्ष्मी लाइफ इन्स्यारेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका जस्ता संस्थाका सीईओ भइसेका रमेशकुमार भट्टराईले कार्यक्रमको मोडिरेटर गरेका थिए ।
कार्यक्रममा विजय लघुवित्तका सीईओ तथा लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्तराज लम्साल, सञ्चार उद्यमी शम्भु पोखरेल, होटल सेभेनस्टारका प्रवन्ध निर्देशक माधव दुवाडी, व्यवसायी सुरेश सापकोटा लगायतका विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, युवा इनोभेटर्सहरुको सहभागिता रहेको थियो ।
वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरू रहेकाले भेला आयोजना गरिएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले बताए ।
सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न नसकिरहेको भन्दै भट्टराईले त्यसका लागि नेक्सजेनले सहजिकरण गर्ने बताए । सीप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको भन्दै कार्यक्रममा सहभागी युवा इनोभटर्सहरुले चिन्ता व्यक्त गरेका थिए ।
पूर्व बैंकर देवेन्द्र प्रताव शाहले आफ्नो क्षमता देखाउन युवा इनोभटर्सहरु अघि सर्नुपर्ने बताए । ग्लोबल आइएमई बैंकका सीईओ बज्राचार्यले बैंकले लगानीको लागि राम्रो ठाउँ सधै खोजिरहने भन्दै बैंकको विस्वास जित्ने गरी इनोभेटर्सहरुले काम गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ता तथा युवा इनोभेटर्सहरुले उठाएका विषयवस्तुहरु केटिएम भ्वाइसको आधिकारिक फेसवुक पेजमा भिडियोहरु हेर्न सक्नुहुनेछ ।

















